पिउने पानीबाट वञ्चित गराएको भन्दै मानव अधिकार आयोगमा उजुरी

  ०८० फागुन १८ गते

बागलुङ नगरपालिका– १३ पैयुँपाटा बडहरेका ६७ वर्षीय गङ्गा ढकाल पाध्य पछिल्लो १ वर्षयता आफ्नै दाजुभाईसँग पिउने पानीका लागि लडिरहनु भएको छ ।

गङ्गाको घरबाट तल पानी ट्याङ्की छ, ट्याङ्की नजिकै गङ्गा र उहाँका छिमेकीले २०७२ सालबाट पानी पिउने गरेको धारा छ । यो ट्याङ्की र धारा निर्माण गर्न गङ्गाले पनि अन्य छिमेकीले जस्तै श्रमदान गर्नुभएको थियो । बालुवा, सिमेन्ट बोक्नु भएको थियो, ६ दिनसम्म कामदारलाई खाजा बनाएर खुवाउनु भएको थियो ।

हाल वडाका वडाअध्यक्ष रहेका नारायण पौडेल तत्कालिन समयमा उक्त खानेपानी निर्माण समितिको अध्यक्ष हुनुहुन्थ्यो ।

तर, २०७९ चैत महिनाबाट उहाँले पानी ल्याउने धारासम्म पुग्ने बाटोमा जग्गाधनीले तारबार गरिदिएका छन् । बडहरेका १० घरधुरीका लागि सिम्ले भन्ने स्थानबाट ल्याइएको पानी गङ्गाकै घरमुनी ट्याङ्की बाँधिएको छ । सोही ट्याङ्कीबाट दुई घरका लागि एक धारा निर्माण गरेर पानी वितरण गरिएको भएपनि गङ्गालाई पानीको धारासम्म पुग्ने बाटोमा बार लगाएर पानी लिन जान अवराेध पुर्‍याएका छन् ।

बाटोमै बार लगाएर रोकिएको मङ्सिरमा १ वर्ष पुरा भएपनि गङ्गाको स्थानीयसँग पानीको विवाद भने पछिल्लो ३ वर्षदेखिकै हो ।

गङ्गाको घर बडहरेको सबैभन्दा उपल्लो तहमा भएकाले पानी पुर्‍याउन अधिकतम प्रयास गरेर उहाँकै सहमतिमा घर नजिकै ट्याङ्की बनाएको भएपनि अरुको जग्गाको बाटो हुँदै पानी लिन जानु पर्ने भएकाले समस्या आएको अध्यक्ष पौडेलले बताउनु भयो ।

“गङ्गाले छिमेकीको खेतबारीमा जाने बाटोमा बार लगाएपछि छिमेकीले पनि धारामा जाने बाटो बारेको देखिन्छ, यो विषय न्यायिक समितिमा पनि पुगेको छ १९ गते छलफलको तयारी गरेका छौं ।” पौडेलले भन्नुभयो ।

गङ्गालाई खानेपानीको पहुँचमा पुग्न बार लगाएका स्थानीय नारायण ढकालले आफुलाई आफ्ना जीजुबाजेको पालादेखि हिड्दै आएको बाटामा  बार लगाएपछि आफुँले पनि आफ्नो जग्गामा बार लगाएको बताउनु भयो ।

‘पिउने पानी रोक्ने मनसाय होइन्, गङ्गाको घरमाथी हाम्रो खेतबारी छ, हामिले वर्षाैदेखि हिडेको बाटोमा उनले बार लगाएका छन्,’ नारायणले भन्नुभयो ‘यस विषयमा वडा र नगरपालिकामा पुग्यौँ सुनुवाई नभएपछि आफ्नो जग्गामा बार लगाएका हौँ, धारामा बार लगाएका छैनौँ ।’

तर, गङ्गाले भने आफ्नो घर वा गोठको छेउबाट बाटो दिन तयार रहँदा रहँदै पनि स्थानीयहरु घर आगनको बिचबाटै बाटो चाहिन्छ भनेर आफुमाथी अन्याय भइरहेको बताउनु हुन्छ ।

घरमा रहेका वृद्ध बुवा आमालाई जनप्रतिनिधिकै उक्साहटमा पानीको धारासम्म पुग्ने बाटोमा बार लगाएको भन्दै गङ्गाका छोरा मिलन ढकालले राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन दिनु भएको छ । वडा अध्यक्ष नारायण शर्मा पौडेल, स्थानीय नारायण ढकाल र सनम ढकाल लगाएको नाममा आयोगमा निवेदन दिनु भएको हो ।

khanepani 1 baglung

aayog uuri 2 baglung


सिर्जना पन्त