पार्किङ गरेको गाडी भित्र तीन जना बालक मृत फेला, गाडी धनी गिरफ्तार

  ०७८ वैशाख १९ गते

तुलसीपुर उपमनपा–६ मा चार महिनादेखि पार्किङ गरी राखिएको  भारतीय नम्बर आर जे ०१ सिसि ८८५ को जीप भित्र तुलसीपुर उपमनपा–६ का नौ वर्षीय सन्दीप परियार, सात वर्षीय सुवर्ण परियार र ६ वर्षीय करण परियार वैशाख १८ गते मृत अवस्थामा फेला परेका छन् ।

इलाका प्रहरी कार्यालय, तुलसीपुरले गाडी धनी तुलसीपुर उपमनपा–६ का ३१ वर्षीय यादवप्रसाद गैरेलाई वैशाख १८ गते गिरफ्तार गरेको छ ।

गाडी पार्किङ गरेको ठाउँमा गन्ध आउन थालेपछि स्थानीयले शव देखेपछि प्रहरीलाई खवर गरेका थिए ।

मृत भेटिएका बालकहरू वैशाख १६ गतेदेखि हराएको भन्दै अभिभावकहरूले वैशाख १७ गते इलाका प्रहरी कार्यालय, तुलसीपुरमा निवेदन दिएको मृतक सन्देशका बुवा भीमबहादुर परियारले बताउनु भयो ।

इलाका प्रहरी कार्यालय, तुलसीपुरका डिएसपी शिवबहादुर सिंहले सन्देशको शव सिटमा बसेको अवस्थामा र सुवर्ण र करणको शव सिट मुनि भेटिएको बताउनु भयो ।

घटनको थप अनुसन्धानका लागि नेपालगञ्जबाट कुकुरसहितको अनुसन्धान टोली जिल्लामा आइपुगेको जिल्ला प्रहरी कार्यालयका एसपी गणेश चन्दले बताउनु भयो ।

शव पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा राखिएको छ । प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलका अनुसार पोष्टमार्टमका लागि  बुटवलबाट चिकित्सक बोलाइएको छ ।


जयनारायण पुन