पारिवारिक बोझका कारण बालबालिका विद्यालय जानबाट वञ्चित

पारिवारिक बोझ र जनचेतनाको अभावका कारण जिल्लाका अधिकांश बालबालिका विद्यालय जानबाट वञ्चित भएका छन् ।

बुवा रोजगारीका लागि घर बाहिर हुने र आमा काममा व्यस्त हुने भएकाले आफ्ना भाइबहिनीहरूको हेरचाह आफैले गर्नुपर्ने बाध्यताका कारण जिल्लाका २ सय १४ बालबालिका अझै विद्यालय जानबाट वञ्चित भएको जिल्ला शिक्षा कार्यालय, बैतडीका विद्यालय निरीक्षक शङ्करदत्त भट्टले बताए ।

भट्टका अनुसार यस वर्षजिल्लाका केही गाविसमा गरिएको सर्वेक्षण अनुसार उक्त सङ्ख्याका बालबालिकाहरू विद्यालयबाट वञ्चित रहेको फेला परेको हो ।

विद्यालयमा बालबालिकाको पहुँच बढाउन नेपाल सरकारले विभिन्न किसमका कार्यक्रम (घरदैलो अभियान, छात्रवृत्ति, लिटो लगायत) सञ्चालन गरेको भएपनि उनीहरू विद्यालयको पहुँचभन्दा अझै बाहिर रहेका हुन् ।

'एउटै आमाका तीन, चार जना सन्तानहरू हुन्छन् । बुवा कामको लागि घरबाहिर हुने भएकाले आफूभन्दा साना भाइबहिनीहरूको हेरचाहका लागि विद्यालय उमेरका बालबालिका नै प्रयोग भइरहेको छ ।'-विद्यालय निरीक्षक भट्टले भने । साथै पारिवारिक बोझका कारण विद्यालय जाने बालबालिकाहरूले बिचैमा कक्षा छोड्ने समस्यासमेत रहेको उनले बताए ।

अहिले सङ्कलन गरिएको तथ्याङक अनुसार विद्यालय जाने उमेर समूहका १ सय १० जना बालिका र १ सय ४ जना बालक विद्यालय जानबाट वञ्चित रहेका हुन् ।


नरी बडु