पानी माग गर्दै आन्दोलन, विरोधमा बाटो बन्द

  ०८१ असार १० गते

खानेपानीको माग गर्दै फिदिम नगरपालिका-१० र फालेलुङ गाउँपालिका-८ का स्थानीयले बाटो बन्द गराएका छन् ।

मुहान क्षेत्रका वासिन्दाले याङनाम, सिदिन खानेपानी आयोजनालाई नै प्रभावित पार्ने काम गरेको भन्दै फिदिम फालोट सडकखण्ड अन्तर्गत फालेलुङ गाउँपासलका-८ आकाशे भञ्याङ्मा आयोजना पीडितहरूले ०८१ असार ९ गते खाली गाग्री राखेर सडक अवरूद्ध गरेका हुन् ।

फालेलुङ गाउँपालिका–६ र ७ को सिमाना प्युरे खोला मुहान भएर फिदिम नगरपालिका-१० र फालेलुङ गाउँपालिका-८ का नागरिकलाई पानी वितरण गर्न लागिएपनि काम सक्ने बेलामा मुहान क्षेत्रका स्थानीयहरूले अवरोध गर्दै आएका छन् ।

आयोजनाले पानीको मुहान प्रभावित पारेपछि फिदिम नगरपालिका-१० र फालेलुङ गाउँपालिका-८ का स्थानीय खानेपानीका लागि एक, आधा घण्टा धाएर कुवा र पँधेरोबाट पानी बोक्नुपर्ने बाध्यता आइलागेपछि विरोध गरेको स्थानीय मनेन्द्र केरूङले बताउनु भयो ।

खानेपानी आयोजनाले पटकपटक अवरोध गरेकाले आन्दोलन गर्न बाध्यभएको उपभोक्ता समितिका अध्यक्ष सिकुमहाङ जवेगुले बताउनु भयो । याङनामका तिलिङगा, फासिङ्काका स्थानीयहरू बढी प्रभावित भएका छन् ।

फालेलुङ गाउँपालिका-८ वडा कार्यालयको समन्वमा दुई पटक आयोजना र आयोजना प्रभावितबिच समस्या समाधानका लागि बैठक बसेपनि समाधान हुन सकेको छैन् ।

याङनाम, सिदिन खानेपानी आयोजनाले निम्त्याएको समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालयमा आयोजनाको प्रतिवेदनसहितको ज्ञापनपत्र र सम्बद्ध निकायमा वोद्यार्थ पत्र वुझाएको भएपनि समाधानका लागि सरोकारवाला पक्षले चासो नदेखाएको फालेलुङ गाउँपालिका-८ का वडाध्यक्ष श्रीहाङ केरूङले बताउनु भयो ।

खानेपाली आयोजनाले फिदिम नगरपालिका-१० र फालेलुङ गाउँपालिका-८ का स्थानीयलाई सहज खानेपानी आपूर्ति गरीदिन आग्रह गरेको र आयोजनाले वेवास्ता गरेपछि आयोजनाले प्रयोग गर्दै आएको बाटोमा असार ९ गते अवरोध गरिएको छ ।

आयोजनाका परामर्शदाता, जिल्ला समन्वय समिति, जिल्लाका राजनैतिक दललगायतसँग असार १४ गते वार्ता बस्ने सहमति गरिएको छ । वार्ताबाट समस्याको समाधान नभइ पुन सडक अवरूद्ध गर्ने पीडितहरूले चेतावनी दिएका छन् ।

फालेलुङ गाउँपालिका-६ र ७ का स्थानीयहरूको सहमति विना निर्माणकार्य शुरूआत गर्दा यो अवस्था सिर्जना भएको फालेलुङ गाउँपालिका-७ का वडाध्यक्ष टेकबहादुर केरुङले बताउनु भयो ।

बृहत खानेपानी आयोजनालाई मुहान दिँदा फालेलुङ गाउँपालिका-८ का स्थानीयहरूले सिञ्चाइमा असर पर्ने भएकाले आयोजनाको काममा स्थानीयले विरोध गरेका हुन् ।

खानेपानी आयोजना विवाद समाधानका लागि जिल्ला समन्वय, जिल्ला सुरक्षा र जिल्लाका राजनैतिक दल, स्थानीय, सरोकारवाला मात्र नभएर जिल्लाबाट निर्वाचित प्रदेशसभा सदस्य, प्रतिनिधिसभा सदस्यसमेतको उपस्थितीमा वार्ता गर्न आवश्यक रहेको पनि अध्यक्ष केरूङको भनाइ छ ।

सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयमार्फत साविक याङनामका १ हजार २ सय ११ घरधुरीलाई स्वच्छ पिउने पानीको व्यवस्थापनका लागि ०७९ असार २३ गते ठेक्का सम्झौता भइ अञ्जना पराजुली पाथीभरा जेभीले आयोजनाको काम गरिरहेको छ ।

कुल १३ करोेड ६० लाख ९१ हजार ६ सय रुपियाँ लागतमा निर्माण भएको आयोजनाको अहिले भौतिक प्रगति ९१ दशमलव ७ प्रतिशत र वित्तीय प्रगति ८३ दशमलव ४८ प्रतिशत  छ । असार मसान्तभित्रै काम सम्पन्न गर्ने लक्ष्य राखिएपनि मुहान क्षेत्रमा नागरिकका अवरोधका कारण मुहान क्षेत्रमा केही काम हुन बाँकी छ ।

संविधानको धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकको व्यवस्था गरिएको छ । सोही धाराको उपधारा ४ मा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुनेछ भनि उल्लेख गरिएको छ ।तर, फालेलुङ गाउँपालिका-८ फिदिम नगरपालिका-१० का स्थानीय भने खानेपानी माग गर्दै आन्दोलन गर्न बाध्य हुनु परेको छ ।

Photo 20240624 Pachthar (2)

Photo 20240624 Pachthar (3)

Photo 20240624 Pachthar (5)


इवारा जवेगु लिम्बू