पानी भर्नका लागि चारबजे उठ्छन् विद्यार्थी

  ०७६ जेठ २० गते

करिश्मा श्रीष, हरेक दिन बिहान ४ बजे उठ्छिन् । सिसाखानी माध्यामिक विद्यालयको कक्षा १० मा पढ्ने करिश्मा फलामे ढोकाको रूपमा व्याख्या गरिँदै आएको एसइइको तयारी गर्न भने बिहान ४ बजे उठेकी होइनन् ।

सबेरै उठेर उनलाई विद्यालय गएपछि पिउने र शौचालय जाँदा चहिने पानीको जोहो गर्नुछ । विद्यालयबाट पाँच मिनेटको दुरीमा एउटा धारो त छ तर धारामा पानी वर्षको ६ महिना मात्रै आउँछ । माघदेखि असार महिनासम्म धारामा कमिला दौडिन्छन् ।

करिश्मा हरेक बिहान घरमा र विद्यालयमा चाहिने पानी थाप्न सबेरै उठ्छिन् । घरबाट आधा घण्टाको दुरीमा पर्ने धारामा बिहान ५ देखि ८ बजेसम्म पानी आउँछ ।

करिश्मा जस्तै गाउँभरिबाट पानी थाप्न जम्मा भएकाहरू गाग्री, बोत्तल, ग्यालिन लिएर बिहान साढे चार बजेबाटै लाम लाग्छन् ।

८ बजेसम्म पानी भर्न पाए कोही पानी लिएर त कोही रित्तै घर फर्कन्छन् । यहाँका विद्यार्थीहरूले किताब कापी बिर्सिए पनि पानी भरेका बोतल भने छुटाउँदैनन् ।

करिश्मा पढ्ने विद्यालयमा २ सय ५० जना विद्यार्थीले अध्ययन गर्छन् । विद्यालयले छात्राहरूका लागि छुट्टै शौचालयको व्यवस्था गरेको छ तर शौचालयमा प्रयोग गर्ने पानी भने उनीहरूले घरबाटै बोकेर ल्याउनुपर्छ ।

‘स्कुलमा पिसाब लाग्छ भनेर मैले त पानी खाने गरेकै छैन ।’–सोही विद्यालयकी विद्यार्थी रिता थापा भन्छिन्–‘ट्वाइलेटमा पानी नभएर फोहोरले खुट्टा टेक्ने ठाउँ छैन । स्कुलको ट्वाइलेट प्रयोग गर्दिन भन्दा पनि महिनाको चार–पाँच दिन नगरी सुख हुँदैन । महिनावारी भएका बेलामा स्कुल आउँनै मन लाग्दैन ।’

‘शौचालय असाध्यै फोहोर हुन्छ ।’–‘विद्यालयकी शिक्षिका दिलमाया घर्ती भन्छिन्–‘छात्राहरूलाई सेनेटरी प्याडको व्यवस्था गर्न सकिएको छैन । छात्राहरूले महिनावारी भएको पाँच दिन काल काटे झैँ काट्नुपर्छ ।’

विद्यालयका अधिकांश शौचालय पानीको अभावकै कारणले प्रयोगविहीन भएको घर्ती बताउँछिन् । विद्यालयमा मात्र होइन बडिगाड गाउँपालिको वडा नम्बर ३ मा पर्ने माइन गाउँ, किम्ले, घोरलचिरे, भुसखाने डाँडा, गुहेश्वरी र माझ गाउँका गरि करिब ३ सय ३० घरधुरीमा पिउने पानीको चरम अभाव छ ।

पिउनको लागि मात्र नभएर यहाँका स्थानीलाई खाना पकाउन, गाईवस्तुलाई खुवाउन, लुगा धुनदेखि शौचालय जाँदा समेत पानी पर्याप्त छैन  ।

सिसाखानीमा पानीको समस्या हल गर्न अहिले गण्डकी प्रदेश सरकारदेखि, बडिगाड गाउँपालिका र वडा कार्यालयले आवश्यक तयारी गरिरहेको वडा अध्यक्ष खडग पुनले बताए वर्षौँ देखिको पानीको समस्या समधान गर्न यो वर्ष बजेट विनियोजन गर्ने पुनले जानकारी दिए ।

Photo20190603Baglung01

Photo20190603Baglung02


सिर्जना पन्त