पानी अभावमा १० परिवार बसाइ सरे, ३ हजार जनसङ्ख्यालाई शुद्ध खानेपानी अभाव

पाँचखपन नगरपालिका–४ खानीगाउँका १० परिवार खानेपानीको अभावमा बसाइ सर्न बाध्य भएका छन् ।

सिङ्गो गाउँमा नै खानेपानी नभएपछि पानीकै लागि बसाइ जाने क्रम बढिरहेको छ । ‘खानेपानी अभाव समाधान गर्न नसके अझै बसाइ सर्नेको सङ्ख्या बढ्ने देखिन्छ ।’–पाँचखपन नगरपालिका वडा नं ४ मा अवस्थित गुप्तेश्वर आधारभूत विद्यालयका प्रधानाध्यापक लोकबहादुर श्रेष्ठले भने–‘पानीको जोहो गरेर बसाइसराई रोक्नु चुनौती बनेको छ ।’

पाँचखपन–४ खानीगाउँका गङ्गाबहादुर बिक, गोपाल बिक, चन्द्र श्रेष्ठ, गणेश बिक, भीम श्रेष्ठ, गङ्गा श्रेष्ठलगायत १० परिवार बसाइ हिँडेको स्थानीय बुद्धि श्रेष्ठले बताए ।

वन फँडानी, भूक्षयका कारण मुहान सुक्ने भएकाले संरक्षणका लागि मुहान वरपर वृक्षरोपण गर्नुपर्ने सामुदायिक वन उपभोक्ता महासङ्घ, सङ्खुवासभाका अध्यक्ष बद्री सापकोटाको भनाइ छ ।

‘वातावरणीय अध्ययन नगरी जथाभावी सडक विस्तार भइरहेका छन् । वन फँडानी पनि बढेको छ ।’–उनले भने–‘मुहानलाई असर गर्ने गरी सडक बनाउँदा धेरै गाउँका बासिन्दा काकाकुल छन् । पानीका स्रोत सुकाउने गतिविधि बन्द गरिनुपर्छ ।’

जलवायु परिवर्तनको असर पनि पानीका मुहानमा पर्न थालेको उनको बुझाइ छ । यसतर्फ पनि सचेत रहनुपर्ने बेला आएको उनले बताए ।

कुवा रित्तिए बित्यास !

पाँचखपन नगरपालिका खानीगाउँकी रामदेवी श्रेष्ठलाई अन्य कामभन्दा पनि पानीको चिन्ता हुन्छ । घरभन्दा दुई घण्टा टाढाको कुवामा पानी लिन उनी प्रत्येक दिन बिहान ३ बजे पुग्छिन् ।

‘३ बजे कुवा पुगेर लाइनमा बस्दा ५ बजेतिर पानी भर्ने पालो आउँछ ।’–उनले भनिन्–‘कहिलेकहीँ त कुवाको पानी रित्तिएर अस्थायी धारोबाट पानी आउँदैन । त्यत्तिकै फर्कनुपर्छ । घर आइपुग्दा बिहानको ७–८ बज्छ ।’

उज्यालो भुइँमा नझर्दै कुवा चहारेर पानी जम्मा गर्नुपर्ने स्थिति रहेको खानीगाउँकै चन्द्रकुमारी बिकको भनाइ छ ।

‘राति नै पुग्नेले पानी भर्न पाउँछन् नभए कुवा रित्तिएर खाली फर्कनुपर्छ ।’–उनले भनिन्–‘लाइनमा बस्दा पनि पानी भर्न नपाउँदा झैझगडासमेत हुने गरेको छ । कतिपय छिमेकीबीच बोलचाल बन्द भएको छ ।’

एक गाग्रो पानी भर्नकै लागि बिहान ३ बजेदेखि रातको १० बजेसम्म कुवा रूङ्छन स्थानीय । ‘बढीमा चार–पाँच घण्टा कुवामा जम्मा हुने पानीले कतिलाई पुग्नु ? त्यो पानी त धारोबाट झर्दाझर्दै रितिन्छ ।’–उनले भनिन्–‘कुवामा को अगाडि पुग्ने भन्ने होडबाजी हुन्छ । ढिलो पुग्नेले पानी भर्न पाउँदैनन् ।’

गुप्तेश्वर आधारभुत विद्यालयका प्रधानाध्यापक लोकबहादुर श्रेष्ठलाई पानी अभावले बसाइँ गएको खबर सुन्दा अचम्म लाग्थ्यो । ‘तर, हाम्रो गाउँलेले पनि त्यही नियति भोग्नुपरिरहेको छ ।’–उनले भने–‘१० परिवार बसाइ गइसकेका छन् । अन्य परिवार पनि हिँड्न खोज्दैछन् । पाँच वर्षयता पानीका मुहान सुक्ने क्रम बढेकाले यस्तो अवस्था आयो ।’ चैत–वैशाखमा तीन–चार घण्टा तलको सभा खोलाको पानी बोकेर ल्याउनुपर्ने उनको भनाइ छ ।

‘सरकारले समयमै विकल्प खोजी गर्ने हो भने हामीले काकाकुुलको जुनी पार गर्छौँ ’–उनले भने–‘राति नै कुवा पुग्दा मात्र पानी पाउन सकिन्छ । होइन भने पानी नभएर पकाउन नपाउँदा दिनभर भात पनि खान नपाउने अवस्था छ ।’

गाउँमा अन्य खाद्यवस्तु किनेर खान पाए पनि पानी भने किनेर खान नपाइने उनले सुनाए । समस्या समाधान नगर्ने हो भने गाउँ छाड्नेको सङ्ख्या बढ्ने उनले बताए ।

पानी खोज्न जनप्रतिनिधि जङ्गल–जङ्गल

पाँचखपन नगरपालिकाका नगर प्रमुख विपिन राई नेतृत्वको टोली गाग्रो बोकेर जङ्गल चहारेको दुई साता हुन लाग्यो ।

राई नेतृत्वको टोलीले ३ हजार परिवारलाई पुग्ने पानीको मुहान खोजी गरिरहेको छ । गाउँभन्दा माथिका धेरै जङ्गल घुमे पनि ‘खास उपलब्धि’ हात नपरेको नगर प्रमुख राईको भनाई छ ।

‘जलस्रोतको धनी देशका गाउँमा जनता पानी नपाएर प्याकप्याक परेका छन् ।’–उनले भने–‘पानीको चरम अभाव टार्न सकिन्छ कि भनेर हिँडे पनि भरपर्दो मुहान फेला पार्न सकेका छैनौँ । साना मूल मात्र भेट्यौँ ।’

उनका अनुसार वडा नम्बर ९ स्थित भालुखोप जङ्गल सिरानमा एउटा मुहान फेला परेको छ । तर, त्यसले पानी पुग्न सक्ने सम्भावना नरहेको नगर प्रमुख राईले सुनाए ।

मुहान भेटिए उनी गाग्रोमा पानी थाप्न थाल्छन् । कति समयमा भरिन्छ भनेर हिसाब निकाल्छन् । उक्त मुहानबाट पानी ल्याउँदा कति परिवारलाई पु–याउन सकिन्छ भनेर अनुमान लगाउँछन् । यसरी नाप्दा एउटा मुहानबाट प्रतिसेकेन्ड ५ लिटर पानी आउने पत्ता लागेको छ ।

पाँचखपनका लिङलिङ, खप्टुवा, खमारे, खानीगाउँ, अर्चले, डाँडागाउँलगायत ठाउँका बासिन्दाले पाँच वर्षयता पानीको समस्या झेल्दै आएका छन् ।

वडा नम्बर ४, ५, ६, ७ र ८ मा खानेपानीको चरम अभाव छ । नजिकमा मुहान छैन, भएका पनि सुके । पानी अभावमा धेरै परिवार बसाइ गएका छन् । ३ हजारभन्दा बढी परिवारले खानेपानी अभाव झेलिरहेका छन् ।

स्थानीय सरस्वती आधारभूत विद्यालयका शिक्षक भीम बम्जन तामाङका अनुसार हिउँद लागेपछि पानीको चिन्ता हुन्छ ।

‘खानेपानी अभाव भएपछि जनप्रतिनिधि सहित हामीले धेरै ठाउँमा मुहान खोजी ग¥यौँ ।’–उनले भने–‘सबैलाई पुग्ने मुहान फेला परेको छैन ।’ उनका अनुसार भालुखोप सिरानको मुहानमा अरू मिसाएर गाउँमा पानी ल्याउन सकिन्छ ।

‘सामान्य खालका मुहान फेला परे पनि टाढा रहेका कारण कसरी पानी ल्याउने भन्ने तनाव थपिएको छ ।’–उनले भने–‘पानी अभाव हुँदा नगर प्रमुख आफैँ खाली गाग्रो बोकेर मुहान खोज्दै हिँड्नुपर्ने अवस्था आयो ।’

उनका अनुसार २ हजार परिवारलाई धान्न सक्ने मुहान भेटिएको हो । तामाङले भने–‘बाँकीका लागि पानीको जोहो कहाँबाट गर्न सकिन्छ भन्ने टुङ्गोमा पुग्न सकेका छैनौँ ।’

४० जनाको जम्बो टोलीमा उपमेयर भीमदेवी राई, वडाध्यक्षहरू पाँचपखन–४ का काजीमान तामाङ, ५ का रामबहादुर तामाङ, ६ का नरेशकुमार श्रेष्ठ, ७ का कृष्णबहादुर खड्का, ८ का छत्रबहादुुर न्यौपाने र ९ का कुलबहादुर तामाङ संलग्न छन् । यस्तै वडासदस्य, प्राविधिक, स्थानीय शिक्षक र गाउँका अगुवा पनि छन् ।

बजेट ५० लाख, लाग्ने १५ करोड

नगरप्रमुख राईका अनुसार मुहान खोजी र योजना सञ्चालन गर्न ५० लाख रुपियाँ विनियोजन गरिएको छ । तर, यो बजेट पूर्वाधार तयार गर्नमै खर्च हुने देखिएको छ ।

थप रकमका लागि प्रदेश र सङ्घीय सरकारसँग आग्रह गरिएको उनले सुनाए । विभिन्न मुहानलाई एकत्रित गरी पानी ल्याउन १५ करोड रुपियाँ खर्च लाग्ने अनुमान प्राविधिकले गरेका छन् ।

नगर उपप्रमुख भिमादेवी राईका अनुसार तत्काल योजना सञ्चालन गरी पानी वितरण गर्नुपर्ने अवस्था छ ।

‘एउटा मात्र मुहानको पानी दीर्घकालसम्मका लागि पर्याप्त हुने देखिएन ।’–उनले भनिन्– ‘ओढारेसहितका विभिन्न मुहानको पानी सङ्कलन गरी ल्याउनुपर्ने अवस्था छ ।’

khanepani panchkhapan

khanepani


बाबुराम बास्तोला