पाठ्यपुस्तक अभाव कायमै, पठनपाठन प्रभावित

  ०७९ असार २४ गते

जिल्लाका सामुदायिक विद्यालयमा अध्ययरत बालबालिकाले शैक्षिक सत्र सुरूआत भएको दुई महिना बित्न लागेपनि पाठ्यपुस्तक अझै नपाएको गुनासो गरेका छन् ।

सरकारले पाठ्यपुस्तक समयमा उपलब्ध नगराउँदा जिल्लाका सामुदायिक विद्यालयमा पठनपाठन प्रभावित भएको छ ।

पुस्तक विद्यार्थीको हातमा नआएका कारण बालबालिका शिक्षाको अधिकारबाट वञ्चित हुनु परेको छ । नेपालको संविधान, २०७२ ले धारा ३१ मा शिक्षाको अधिकारलाई मौलिक हकको रूपमा व्याख्या एवम् व्यवस्था गरेको छ ।

इनरुवा नगरपालिका–२ स्थित बालमन्दिर माध्यमिक विद्यालयका प्रधानाध्यापक सत्यनारायण मेहताले शैक्षिक सत्र सुरू भएको दुई महिना बित्न लाग्दा पनि पाठ्यपुस्तक प्राप्त नहुँदा पठनपाठनमा समस्या भएको बताउनु भयो । नयाँ पाठ्यपुस्तक नपाउँदा विद्यार्थी र शिक्षक दुवैलाई समस्या भएको प्रअ मेहताको भनाइ छ ।

पाठ्यक्रम फेरिएको सामुदायिक विद्यालयको कक्षा ४ र ७ का विद्यार्थीसँग पुस्तक नभएको विद्यार्थीहरूले गुनासो गरेका छन् । अन्य कक्षामा पनि पुरै सेट किताब विधार्थीको हातमा नआएको सरस्वती माध्यमिक विद्यालयका नेपाली शिक्षक देवकृष्ण यादवले बताउनु भयो ।

नयाँ शैक्षिक सत्र सुरू भएपछि पाठ्यपुस्तक नआउँदा अध्ययन गर्न, गृहकार्य गर्न समस्या भएको इनरूवा नगरपालिका–१० जल्पापुरस्थित श्री आधारभूत विद्यालयमा कक्षा ६ मा अध्ययनरत छात्रा मनिषा सरदारले गुनासो गर्नु भयो ।

जिल्लामा सदरमुकामसहित अधिकांश विद्यालयमा पुराना पुस्तकबाट अध्ययनअध्यापन भइरहेको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ । इ–लाइव्रेरी जडान गरिएको विद्यालयमा केही समस्या कम भएपनि आवश्यक भन्दा कम कम्प्युटर भएकाले समस्या उस्तै छ ।

विगतका वर्षहरूमा विद्यालयमा समयमा पाठ्यपुस्तक शैक्षिक सत्र सुरूआत भएको महिना दिन भित्रमा आउने भएपनि यस वर्ष असारको तेस्रो सातासम्म कुनै पनि विद्यालयमा पाठ्यपुस्तक नआएको इनरूवा नगरपालिका शिक्षा शाखाले जनाएको छ ।

स्थानीय तह सदस्य निर्वाचन ०७९ को मतपत्र छाप्ने कार्यले गर्दा विद्यालयको पाठ्यपुस्तक छाप्न ढिला भएको जनशिक्षा सामग्री केन्द्रले जनाएको छ ।

गएको वर्ष कोभिड–१९ को सङ्क्रमण र यस वर्ष निर्वाचनको कारणले गर्दा पुस्तक छपाइमा ढिला भएकाले पुस्तक नआएसम्म पुराना पुस्तक बाँडेर पठनपाठन गराउन निर्देशन दिएको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख रमेशबहादुर दाहालले बताउनु भयो ।

जिल्लामा आधारभूत र माध्यमिक गरी ३ सय ८१ ओटा सामुदायिक विद्यालय छन् । अधिकांश विद्यालयमा पाठ्यपुस्तक पुगेको छैन ।

स्थानीय तह निर्वाचनका लागि मतपत्र छाप्नु परेको भन्दै जनक शिक्षा सामाग्रीबाट नै पुस्तक नपाएपछि पुस्तक बिक्रेताहरूले समयमा विद्यालयहरूलाई पाठ्यपुस्तक दिन सकेका छैनन् ।

जनता माध्यामिक विद्यालय भोक्राहा नरसिंह गाउँपालिका–३ का प्रधानाध्यापक जितेन्द्रकुमार साहका अनुसार कक्षा ४, ७ र ९ मा यो वर्ष नयाँ कोर्ष लागू हुने भनेपनि पाठ्यपुस्तक अभावका कारण सबै शिक्षक र विद्यार्थी दोधारमा छन् ।

पुरानै कोर्ष कक्षा १ देखि १० को पाठ्यपुस्तक समेत पूर्ण रूपमा नआएपछि समस्या चर्को भएको प्रअ साहको भनाइ छ ।

पाठ्यक्रमबाट मात्रै पनि शिक्षण गर्न त शिक्षकले सक्छन् तर विद्यार्थीमा पाठ्यपुस्तक विना पढ्ने मनोविज्ञान नबन्दा शिक्षण सिकाइ थप प्रभावित भएको प्रअ साह बताउनु हुन्छ ।

जिल्लाका केही विद्यालयहरूले पुरानो पाठ्यक्रमबाट पठनपाठन सुचारू गरे पनि कक्षा ४ र ७ को पुस्तक भने अभाव भएको सम्बन्धित विद्यालयका शिक्षकको भनाइ छ ।

सरकारले पाठ्यपुस्तक छपाइमा गरेको लापरबाहीका कारण अध्ययनरत विद्यार्थी तथा शिक्षकहरू मारमा परेको विद्यालयहरूले जनाएका छन् ।

सरकारको ध्यान स्थानीय तह सदस्य निर्वाचनमा केन्द्रीत भएका कारण शैक्षिक क्षेत्रमा आवश्यक चासो नदेखाउँदा असारको तेस्रो हप्तासम्म पनि पाठ्यपुस्तकको टुङ्गो लाग्न नसकेको सरोकारवालाहरूको भनाइ छ ।

पुस्तक बिक्रेताहरूले समेत पुस्तक छाप्न ढिला हुँदा विद्यालयहरूमा पुस्तक पठाउन नसकिएको गुनासो गरेका छन् ।

पुस्तक बिक्रेता पवन मेहताले पुस्तक लिनका लागि विराटनगर जाँदासमेत पुस्तक नपाएको बताउनु भयो ।

जेठ १ गतेदेखि सम्पूर्ण विद्यालय सञ्चालन भएको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख रमेश दाहालले बताउनु भयो ।

शैक्षिक सत्र सुरूआत भएपनि पुस्तक छपाइ ढिला भएकाले दुई महिना बित्न लाग्दा समेत पूर्णरूपमा पाठ्यपुस्तक आउन नसकेका कारण बालबालिका शिक्षाको अधिकारवाट वञ्चित हुनु परेको अभिभावकहरूको भनाइ छ ।


जयकृष्ण यादव