पाँच महिनादेखि तलब नपाएको शिक्षकहरुको गुनासो

  २०८१ जेठ ११

जुनीचाँदे गाउँपालिकामा नेपाल सरकारको अनुदान दरबन्दीमा कार्यरत शिक्षकहरुले पाँच महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । जुनीचादे गाउँपालिका–६ भानुभक्त हिमालय माध्यमिक विद्यालयमा कार्यरत नेपाल सरकारको अनुदान दरबन्दीका १२ जना शिक्षकहरुले पाँच महिनादेखि तलब नपाएपछि गुनासाे गरेका हुन् ।

सङ्घीय सरकारको अनुदान दरबन्दीमा काम गरेका १२ जना शिक्षकले तलब विहीन काम गरेका छन् ।  श्रम अनुसारको पारिश्रम नपाएपछि गाउँपालिका, शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयमा निवेदन दिएपनि सुनुवाइ समेत नभएको शिक्षकले गुनासो गरेक छन् । शिक्षण पेसाबाट जीवन निर्वाह गरेका शिक्षकले समयमा तलब नपाउँदा सम्बन्धित निकायसँग गुनासो गरेपनि सुनुवाइ नहुँदा चिन्तित बनेका छन् ।

जुनीचाँदे गाउँपालिका–६ मैप स्थित भानुभक्त हिमालय माध्यमिक विद्यालयमा कार्यरत शिक्षक लावबहादुर वलीले विगत पाँच महिनादेखि तलब नपाएपछि स्थानीय तह, शिक्षा विकास तथा समन्वय इकाइमा गत वैशाख ६ गते निवेदन दिएका छन् ।

०७९ फागुन २९ गते विद्यालय व्यवस्थापन समितिको बैठकले नेपाल सरकारको शिक्षण सिकाइ अनुदानको दरबन्दीमा खुल्ला प्रतिस्पर्धाबाट गणित विषय शिक्षकमा छनौट भएका लालबहादुर वली र सोही विद्यालयमा विज्ञान विषयको शिक्षकको ०७९ चैत ७ गते व्यवस्थापन समितिबाट नियुक्ति लिएका शिक्षक धन थापा नियमित रुपमा विद्यालयमा हाजिर भएपनि पाँच महिनादेखि पाउनु पर्ने तलब नपाएपछि जुनीचाँदे गाउँपालिका अन्तर्गत शिक्षा युवा तथा खेलकुद शाखा र शिक्षा विकास तथा समन्वय इकाइलाई बोधार्थमा जेठ ६ गते प्रधानाध्यापक गणेशबहादुर शाही समक्ष निवेदन बुझाएपनि तलब पाउन नसकेको शिक्षक थापाले बताउनु भयो । तलब नपाएपनि बालबालिकाको पढाइ सुधार्न नियमित विद्यालयमा शिक्षण गर्दै आएको उहाँको भनाइ छ ।

नेपाल सरकारबाट आउने बजेट घटेर आएपछि तलब दिन नसकेको बताउनु भयो । शिक्षकले तलब नपाएपछि शिक्षा विकास तथा समन्वय इकाइ, शिक्षा मन्त्रालय लगाएत सरोकारवाला निकायमा निवेदन पेश गरिएको छ । सरकारले बाँकी रकम पठाएपछि तत्काल नआएको खण्डमा असोजसम्म उपलब्ध गरिने जुनीचाँदे गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख दलबहादुर बुढा जानकारी दिनुभयो ।

समयमा काम गरेर तलब नपाएपछि शिक्षाको गुणस्तर घट्दै जाने शिक्षक वली बताउनुहुन्छ । आफू लगाएत १२ जना शिक्षकले तलब पाउन नसकेको गुनासो गरेका छन् । विद्यायलय प्रशासन, स्थानीय तहले तलबको व्यवस्थापन नगरे पढाइ छोड्ने अनुदानमा कार्यरत शिक्षकको भनाइ छ ।

जुनीचाँदे गाउँपालिकामा नेपाल सरकारको अनुदान दरबन्दीमा कार्यरत शिक्षकले तलब नपाएको गुनासो आएपछि थप छलफल भइरहेको शिक्षा विकास तथा समन्वय इकाइका निमित्त प्रमुख तिलक भटराईले जानकारी दिनुभयो ।

गाउँपालिकाले सङ्घीय सरकारबाट बजेट कम आएका कारण समयमा शिक्षकलाई तलब दिन सकेको छैन । माध्यमिक विद्यालय सञ्चालन भइ एउटा दरबन्दी नभएका विद्यालयलाई सङ्घीय सरकारको अनुदानमा दुई जना शिक्षकको व्यवस्थापनका लागि दिएको रकम स्थानीय तहले आफू खुसी शिक्षक राखेपछि समस्या आएको निमित्त प्रमुख भट्टराईको भनाइ छ ।

Photo20240524Jajarkot


बासुदेव शर्मा