पाँच महिनादेखि तलब नपाएको भन्दै स्वास्थ्यकर्मी आन्दोलनमा, स्वास्थ्य सेवा प्रभावित

पाँच महिनादेखि तलब नपाएको भन्दै जाजरकोट अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरू आन्दोलनमा उत्रिएका छन् । हरेक महिना तलब भत्ता बुझ्दै आएका स्वास्थ्यकर्मीहरूले लामो समयदेखि तलब नपाउँदा आन्दोलनमा उत्रिनु परेको प्रतिक्रिया दिएका छन् ।

स्वास्थ्यकर्मीहरूले असार १३ गतेदेखि कालोपट्टी बाँधेर सुरू गरेको कार्यक्रम असार १४ दिउँसो १२ बजेसम्म आकस्मिक बाहेकका सबै सेवा बन्द गरेर विरोधमा उत्रिएका हुन् । समयमा निकाशा नहुँदा जाजरकोट अस्पताल र भेरी नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरूले तलब भत्ता पाउन नसकेका हुन् ।

यसअघि हरेक महिना तलबभत्ता बुझ्दै आएका स्वास्थ्यकर्मीले स्वास्थ्य संस्था स्थानीय तह मातहतमा गएपछि समयमा तलब नपाएको आरोप लगाएका छन् । भेरी नगरपालिका मातहतका स्वास्थ्य चौकी र जाजरकोट अस्पतालमा कार्यरत चिकित्सकदेखि कार्यालय सहयोगीले ०७४ फागुनदेखि तलब भत्ता नपाएको गुनासो गरेका छन् । असार १५ गतेसम्म सबै सेवा ठप्प पारिने जाजरकोट अस्पतालका प्रमुख डा.राजेन्द्र लामाले बताए ।

जाजरकोट अस्पतालमा कार्यरत ५७ जना स्वास्थ्यकर्मी तथा अन्य कर्मचारी र नगरपालिकामा कार्यरत ३४ जना स्वास्थ्यकर्मीले समयमा तलब भत्ता पाउन नसकेका हुन् ।

गत फागुनदेखि तलब नपाउँदा घरखर्च चलाउन समस्या भएको जाजरकोट अस्पतालमा कार्यरत सिनियर अनमी जया खड्काले गुनासो गरिन् । मन्त्रालयबाटै निकाशा नभएको भन्दै नगरपालिकाले रकम नदिएपछि तलब नपाएको उनले बताइन् । रातदिन नभनी बिरामीको सेवामा खटिनुपर्ने स्वास्थ्यकर्मीलाई समयमा तलब नदिएर अन्याय गरेको उनको भनाई छ ।

भेरी नगरपालिका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र शर्माले दिनहुँ बिरामीको सेवा गर्ने स्वास्थ्यकर्मीले लामो समयदेखि तलब नपाउँदा निराश भएको बताए । उनले स्थानीय तहमा गएपछि सेवा सुविधा सहज होला भन्ने सोचेका स्वास्थ्यकर्मीले तलब नपाउँदा घरखर्च टार्न समेत समस्या भएको बताए ।

भेरी नगरपालिकाका लेखापाल डम्बर विष्टले रकम निकाशा नभएकाले स्वास्थ्यकर्मीलाई तलब खुवाउन नसकिएको बताए ।

'यसअघि निकाशा भएको तलब सकिएको र फेरी निकाशाका लागि कोष तथा लेखा नियन्त्रण कार्यालयमार्फत स्वास्थ्य सेवा विभागमा माग गरेको भएपनि हालसम्म निकाशा भएको छैन ।'-उनले भने-'निकाशा हुने बित्तिकै हाम्रो तर्फबाट तलब रोकिँदैन ।' समयमा तलब निकासा नहुँदा स्वास्थ्य सेवा प्रवाह प्रभावित भएको सेवाग्राहीले गुनासो गरेका छन् ।


दिनेशकुमार श्रेष्ठ