पाँच महिनादेखि तलब नपाएको स्वास्थ्यकर्मीहरूको गुनासो

  ०७८ जेठ १४ गते

जिल्ला अस्पताल पर्वतमा कार्यरत एक चिकित्सक सहित अन्य १५ जना स्वास्थ्यकर्मीहरू पाँच महिनादेखि तलब पाएका छैनन ।

अस्पतालमा करार सेवामा रहेका स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको तलब ०७७ माघ महिनादेखि रोकिएको हो ।

जिल्ला अस्पताल व्यवस्थापन समिति र कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) बिच समन्वय हुन नसक्दा यस्तो अवस्था आएको हो ।

कोष तथा लेखा नियन्त्रक कार्यालय पर्वतले चालु अवस्थामा रहेको खाताको स्वरूप फेर्नुपर्ने भन्दै अस्पताल व्यवस्थापन समितिको नाममा रहेको खाता सञ्चालनका लागि स्वीकृति नदिँदा समस्या भएको पर्वत अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले बताउनुभयो ।

अहिले कोभिड १९ सङक्रमण अवस्था भयावह भइरहेको बेलामा विभिन्न सामग्रीहरू खरिद गर्नुपर्ने तथा उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई पनि पैसा दिनुपर्ने बेलामा एकाएक अस्पतालको खाता सञ्चालन रोकिँदा अस्पताल नै समस्यामा परेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले बताउनुभयो ।

अस्पताल व्यवस्थापन समिति, अस्पताल प्रशासन र कोलेनिकाबिचको असमझदारीका कारण आफूहरू लामो समयदेखि तलब विहिन बनेको पर्वत अस्पतालका डाक्टर डिवी क्षेत्रीले गुनासो गर्नुभयो ।

पर्वत अस्पतालको खाता सञ्चालनमा हालसम्म अस्पतालको आफ्नै पद्धति र समितिको निर्णय अनुसार सञ्चालन हुँदै आइरहेकोमा कोलेनिकाले टिएसए पद्धतिमा लैजानुपर्ने भन्दै समितिको नाममा खाता सञ्चालनका लागि स्वीकृति नदिएको हो ।

कोलेनिका कार्यालयका प्रमुख मोहन शरण भण्डारीले राष्ट्र बैंकले तयार पारेको नीतिलाई मान्दै नेपाल सरकारले ०७६ सालबाट प्रदेश, सङ्घ वा स्थानीयतहका खातालाई चल्तीबाट विविधमा स्थानान्तरण गरेर कारोबार गर्नुपर्नेमा त्यो काम नगरिएको र अहिलेसम्म पनि चल्तीबाटै कारोबार भइरहेका कारण खाता सञ्चालनको स्वीकृति दिन नसकिएको बताउनुभयो ।

पर्वत अस्पतालमा सञ्चालित विभिन्न कार्यक्रमबाट सेवा करारमा रहेका चिकित्सक तथा स्वास्थ्यकर्मी र कर्मचारीहरूले तलब नपाएका हुन् ।

जिल्ला प्रशासन कार्यालय पर्वत प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले स्वास्थ्यकर्मी तथा कर्मचारीलाई रोकिएको तलब तत्काल प्रदान गर्न अस्पताल व्यवस्थापन समिति र कोलेनिकाबिच समन्वय भइरहेको र नियमानुसार काम कारवाही अघि बढाउन समेत कोलेनिकालाई अनुरोध गरिएको बताउनुभयो ।


सन्तोष थापा