पाँच महिनादेखि चिकित्सक विहीन लिम्सा अस्पताल, बिरामी समस्यामा

  ०८० असार ३ गते

बारेकोट गाउँपालिका–२ लिम्सामा रहेको प्रस्तावित आधारभुत अस्पताल पाँच महिनादेखि चिकित्सक विहीन छ । गत पुस २६ गते डाक्टर सन्तोष चपाई त्यहाँबाट गएपछि अस्पतालले नयाँ चिकित्सक पाउन सकेको छैन् ।

नागरिकको स्वास्थ्य उपचारको हकलाई सुरक्षित राख्न कर्णाली प्रदेश सरकारले ६० प्रतिशत र बारेकोट गाउँपालिकाले ४० प्रतिशत व्यहोर्ने गरी २०७८ फागुनमा डाक्टर चपाई अस्पतालमा हाजिर भएका थिए । डाक्टर नहुँदा एक्सरे, पोस्टमार्टम सहित विशेषज्ञ सेवा बाट स्थानीय बञ्चित भएका छन् । चिकित्सकद्वारा प्रदान हुने सबै सेवा सुविधा पाउन बाट स्थानीय बञ्चित छन् ।

बारेकोट–५ मैनाकी सरस्वती कामी गत जेठ २५ गते आफ्नो ४ वर्षीय बच्चाको छाती तथा पेटको समस्या भै बिरामी भएपछि  उपचार गराउन लिम्सामा रहेको प्रस्तावित आधारभुत अस्पतालमा गएपनि अस्पतालमा चिकित्सक नभएपछि एक्सरे सेवा लगायत अरु उपचार सम्भव नहुँदा अस्पतालले जिल्ला अस्पताल जाजरकोटमा रिफर गरेकाले अहिले जिल्ला अस्पतालमा बच्चाको उपचार भइरहेको गुनासो गर्न भयो ।

त्यसैगरी बारेकोट–७ सक्लाका हरि प्रसाद गौतम आफ्ना ६७ वर्षीय बुबालाई उपचारका लागि गत जेठ ३२ गते आधारभुत अस्पतालमा लिएको तर अस्पतालमा चिकित्सक नै नभएपछि उपचार सेवा नहुँदा अहिले नेपालगञ्जमा उपचार गराइरहेको गुनासो गर्न भयो । हरिले भन्नु भयो सरकारले अस्पताल बनाउन ठुलो रकम खर्चेर भवन बनाउनु भन्दा सेवा दिए हुने हो बरु ।

सामान्य उपचारका लागि स्थानीय दल्ली अस्पताल र जिल्ला स्वास्थ्य कार्यालय धाउन बाध्य भएको स्थानीय सुनिता विकले बताउनु भयो । सुनिताले भन्नु भयो अहिले यो समयमा मानिस धेरै बिरामी हुने हुँदा अस्पतालमा दैनिक जसो ४५÷५० जना भन्दा बिरामी उपचारका लागी आउने तर चिकित्सक नहुँदा सामान्य उपचार पनि बिरामीले नपाउने अवस्था रहेको र चिकित्सक ल्याउने विषयमा गाउँपालिकाले पनि कुनै चासो नदिएका उहाँको भनाइ छ ।

त्यसैगरी बिरामीले उपचार सेवा नपाए संगै आपाङ्गहरुको समेत परिचय पत्र चिकित्सक नभएका कारण पाउन सकेका छैनन् । बारेकोट गाउँपालिका–४ का नारायण गौतमले गाउँका अपाङ्गहको चिकित्सकले दिने सिफारिस रोकिएको र सिफारिस रोकिदा अपाङ्गता परिचयपत्र नै प्राप्त गर्न नसक्दा बिरामीको उपचार सेवामा समस्या संगै अपाङ्गहरुले समेत दुख पाएको बताउनु भयो ।

गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले केही दिनमै चिकित्सक ल्याउने तयारी भइरहेको बताउनु भयो । ‘हामीले कुरा गरिरहेका छौं, अध्यक्ष गिरीले भन्नु भयो, ‘अबको केही दिनमा अस्पतालमा चिकित्सक आउनुहुन्छ ।’

यस गाउँपालिकाको एउटा मात्रै अस्पताल लिम्सामा चिकित्सक (एमविविएस) को दरबन्दी रहेको छ ।

Photo20230618Jajarkot


दिनेश कुमार श्रेष्ठ