पाँच दिनदेखि विद्युत अबरूद्ध हुँदा जिल्ला अस्पतालका बिरामी समस्यामा

  ०७४ साउन ३१ गते

पाँच दिनदेखि अबरूद्ध विद्युत सुचारू हुन नसक्दा जिल्लाबासीहरू अन्धकारमा बस्न बाध्य भएका छन् भने जिल्ला अस्पताका बिरामीहरूलाई उपचारमा समस्या भएको छ ।

साउन २७ गते रातिदेखि विद्युत अबरूद्ध भएका कारण जिल्ला अस्पतालमा उपचारका लागि आएका बिरामीहरूलाई उपचारमा समस्या भएको हो । विद्युत अबरूद्ध हुँदा जिल्ला अस्पतालमा उपचारका लागि आएका बिरामी मध्ये गर्भवती र दमका बिरामीलाई उपचारमा समस्या भएको जिल्ला अस्पतालका डाक्टर रोहितकुमार झाले बताए ।

विद्युत नभएकै कारण लालिगुराँस नगरपालिकाबाट सुरक्षित सुत्केरी हुन जिल्ला अस्पताल आएकी कमला लिम्बु चार दिनदेखि अस्पतालमै बस्न बाध्य भएकी छिन् । बिजुली नहुँदा बिरामीलाई आकस्मिक सेवा दिन नसकिएको जिल्ला अस्पतालका चिकित्सकहरूले बताएका छन् ।

लगातारको वर्षाले अबरूद्ध विद्युत पुनः सञ्चालन नहुँदा जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालयहरूको काम काजमा समेत समस्या भएको छ । विद्युत नहुँदा जिल्लाबासी अन्धकारमा बस्न बाध्य भएका छन् भने मोबाइल चार्ज गर्न नपाएपछि सञ्चार सेवाबाट समेत प्रभावित भएका छन् । विद्युत अबरूद्ध भएकै कारण जिल्लामा सञ्चालित तीन ओटा रेडियोहरू प्रत्यक्ष प्रभावित भएका छन् । विद्युत अबरूद्ध हुँदा अहिले रेडियो बन्द भएका छन् । रेडियो बन्द हुँदा जिल्लाबासी सूचना पाउनबाट वञ्चित भएका छन् ।


भगिश्वर लिम्बु