उमेर पुगेका थुनुवासँग बालक !

खार्पुनाथ गाउँपालिका-१ गोप्काका १३ वर्षीय एक बालक पाँच दिनदेखि जिल्ला प्रहरी कार्यालयको हिरासतमा प्रहरीले उमेर पुगेका थुनुवासँग राखेको बालकका बुवा रत्न रोकायले गुनासो गरेका छन् ।

बालबालिकासम्बन्धी ऐन २०४८ को धारा १५ मा बालबालिकालाई नेल हत्कडी लगाउन, एकान्त काराबासमा राख्न वा कुनै अपराध गरे वापत कैदको सजाय पाएमा उमेर पुगेका कैदीको साथमा राख्न नहुने व्यवस्था गरेको छ ।

हुम्लामा कारागार नभएको हुँदा सबै कैदी तथा थुनुवा प्रहरीको हिरासतमा राख्ने गरिएको छ । जिल्ला प्रहरी कार्यालयमा बालकसँग अन्य एक जना उमेर पुगेका कैदीसँगै रहेका छन् ।

सदरमुकाम सिमकोटका पसल रातिको समयमा चोरी भएको घटनाको आरोपमा पीडित बालकलाई प्रहरी हिरासतमा राखी मुद्दा दायर गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर गेहेन्द्र बोगटीले जानकारी दिए ।

इन्स्पेक्टर बोगटीका अनुसार बजारमा दिन प्रतिदिन चोरीका घटना बढेपछि बालकलाई प्रमाणसहित पसलेहरूले फेला पारी प्रहरी कार्यालयमा बुझाएका हुन् ।

स्थानीय व्यापारी ग्वामसिंह भण्डारीले भदौ २० गते दिएको उजुरीले भदौ २१ गते मुद्दा दायर भएको छ भने मुगा बोहोराले भदौ २१ गते दिएको उजुरीले भदौ २२ गते पुनः अर्को मुद्दा दर्ता भएपछि बालकलाई दुई वटा चोरीको मुद्दा लगाएर भदौ २० गतेदेखि हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

उजुरीवालाले अन्दाजी १६ वर्षको भनेर उजुरी गरेपनि उनको उमेर १३ वर्षरहेको बालकका बावुले दावी गरे ।

मुद्दा दायर भए लगतै बालकलाई १० दिनका लागि म्याद थप गरी अनुसन्धानको क्रममा राखेको इन्स्पेक्टर बोगटीले बताए ।

हुम्लामा बालबालिका राख्ने बाल सुधार गृह नभएकाले बालकलाई प्रहरी हिरासतमै अरू कैदीबन्दीसँगै राख्ने गरिएको छ । बालिकाकी आमाले भनिन्- 'मेरो छोराले गल्ती गरेको भए पनि त्यसको असुल उपर म गर्न तयार छु ।' मुद्दा दायर नगर्न आग्रह गरेपनि पसले र प्रहरीले नमानेको पीडित बालककी आमाले बताइन् ।

मुलुकी अपराधसहिंता ऐन २०७४ मा लेखिए बमोजिम प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भएता पनि बालकलाई नेल, हतकडी लगाउन, एकान्त कारावासमा राख्न वा कुनै अपराध गरे बापत कैदको सजाय पाएमा उमेर पुगेका कैदीको साथमा राख्न हुँदैन भने पनि पीडित बालकका हकमा सो बुँदा लागु भएको छैन ।

कुनै अपराध गरेको कारणबाट कानुन बमोजिम कुनै पद वा सुविधा प्राप्त गर्न कुनै व्यक्ति अयोग्य हुने रहेछ भने पनि बाल्यावस्थामा गरेको त्यस्तो अपराधबाट त्यस किसिमको अयोग्यता निजको हकमा सिर्जना भएको मानेको छैन ।

सजाय गर्ने प्रयोजनको निमित्त पटक कायम गर्दा बाल्यवस्थामा गरेको अपराधको गणना गरिने छैन । बालकले एउटै अपराध एक पटकभन्दा बढी गरेको भए पनि पटकको आधारमा निजलाई थप सजाय गरिने छैन भनी मुलुकी अपराध सहिंता ऐन २०७४ मा लेखिएको छ ।


नन्द सिंह