पाँच केजी चामल किन्न कर मात्रै २ सय ५० रुपियाँ !

सदरमुकाम सिमकोटको बजारमा बोसाबास गर्दै आएका बजार बासीले तिनवटा कर तिरेमा मात्र नेपाल खाद्य संस्थानबाट चामल किन्नको लागि 'रासन कार्ड' पाउने भएका छन् ।

हुम्लाको सदरमुकाम सिमकोटमा विभिन्न कामको सिलसिलामा बजारमा बस्दै आएका बजारबासीहरूलाई खाद्य संस्थानबाट खाद्यान्नको लागि तीनवटा कर तिरेर मात्र चामल पाउने व्यवस्था भएको हो । सिमकोट गाउँपालिका-५ र ६ वडा कार्यालयलाई कर तिरेपछि 'रासन कार्ड' पाइने व्यवस्था गरिएको छ ।

सिमकोट बजारमा कामको सिलसिलामा बसेका व्यक्ति वा परिवारले खाद्यान्न पाउन वडा कार्यलयमा कुपन कार्ड, सरसफाई, र घरबहाल कर तिनुपर्ने प्रवाधान स्थानीय तहले गरेको हो । नेपाल खाद्य संस्थान शाखा कार्यलय हुम्लाबाट मासिक प्रति परिवारले पाँच केजी चामल पाउनको लागि सम्बन्धित वडा कार्यलयमा तीन प्रकारका कर तिर्नु पर्ने व्यवस्था गरिएको सिमकोट गाउँपालिका-६ का वडा अध्यक्ष जयचन्द्र रोकायाले बताए ।

सम्बन्धित वडामा एक कुपन कार्ड बनाए वापत ५० रुपियाँ, बजार सरसफाइ कर तिर्न १ सय रुपियाँ र घरभाडामा बसे वापत प्रति कोठा १ सय रुपियाँका दरले कर बुझाउनुपर्ने बाध्यता गरेको समेत खार्पुनाथ गाउँपालिका-४ का लोकबहादुर हमाले गुनासो गरे । स्थानीय तह गठन भएपछि आफ्नो वडामा लगाएको कर नतिरेमा खाद्यान्न कुन कार्ड नपाउने भएपछि बजारबासी मर्कामा परेका छन् ।

नेपाल सरकारले खाद्य संस्थानमार्फत वर्षेनी खाद्यान्न ढुवानी सहुलियत दरमा उपलब्ध गराउँदै आएको भए पनि सदरमुकाम सिमकोटमा बस्दै आएकालाई स्थानीय तहको निर्वाचनपछि जनप्रतिनिधिले गरेको निर्णयले महङ्गो मुल्यमा खाद्यान्न किन्न बाध्य बनाएको सर्केगाड गाउँपालिका-५ का राजेन्द्र कार्कीले बताए ।

'नेपाल खाद्य संस्थानले समयमै खाद्यान्न उपलब्ध नगराए पनि कार्ड बनाउँदा कर तिर्नैपर्छ ।'-सिमकोटमा डेरा गरी बस्दै आएका नेत्रबहादुर शाहीले भने-'स्थानीय तहका प्रतिनिधिले आफ्नो वडाको आम्दानीका लागि सहुलियत मूल्यको खाद्यान्न महङ्गो बनाए ।'

जन निर्वाचित प्रतिनिधिले स्थानीय रूपमा विभिन्न कर उठाउने र वडा कार्यालयलाई आम्दानीको अतिरिक्त स्रोत बनाएपछि अहिले स्थानीय बासिन्दा सहुलियत मूल्यको खाद्यन्न महङ्गोमा किन्न बाध्य भएको शाहीले गुनासो गरे । यसपटक वडा कार्यालयले तिर्दै आएको शुल्क बढाए पछि डेरामा बस्नेहरू मर्कामा परेको पाइएको छ ।


नन्द सिंह