पाँच ओटा कक्षाका विद्यार्थी एउटै कोठामा बस्नु परेको गुनासो

  ०७९ साउन १७ गते

चन्दननाथ नगरपालिका–५ अर्थात यहाँको मुख्य सदरमुकाम खलङ्गास्थित चन्दननाथ मन्दिरमा गुरुकुल पाठशालाका विद्यार्थीले पाँच ओटा कक्षाका एउटै कोठामा बस्नु परेको गुनासो गरेका छन् ।

गुरुकुल पाठशालामा कक्षा ३ मा अध्ययनरत छात्रा नविना अधिकारीले कक्षा कोठा अभाव भएको बताउनु भयो ।

उहाँले भन्नु भयो–‘पाँच ओटा कक्षाका विद्यार्थी एउटै कोठामा बस्ने गरेका छौँ । विद्यालय जाँदा सधैँ कहाँ बस्ने भन्ने चिन्ता हुन्छ ।’

एउटै कोठामा कोचिएर पाँच ओटा कक्षाका विद्यार्थी बस्नुपर्छ ।’–उहाँले भन्नु भयो–‘शिक्षक पनि एउटै हुनुहुन्छ । सबै विषय उहाँबाटै पढ्दा बुझ्न पनि समस्या भएको छ ।’

पाठशालामा नेपाली र संस्कृत दुई ओटै भाषाबाट पढाइ हुन्छ । सरकारले एक जनाबाहेक अन्य शिक्षकको व्यवस्थापन नगर्दा गुरुकुलमा अध्ययनरत १ देखि ५ कक्षासम्मका ३० विद्यार्थी समस्यामा परेका छन् ।

चन्दननाथ मन्दिरको एक कोठामा गुरुकुल शिक्षा पठनपाठन भइरहेको छ । २०६८ सालमा प्राथमिक तहको स्वीकृति पाएको पाठशालाले विद्यालय भवन निर्माणदेखि शिक्षक नियुक्त गर्न नसक्दा विद्यार्थीले यस्तो समस्या भोग्नु परेको अभिभावक रमानन्द आचार्यले बताउनु भयो ।

चन्दननाथ नगरपालिकाले हरेक वर्ष पाठशालालाई व्यवस्थापन खर्चबापत २ लाख ४१ हजार रुपियाँ बजेट विनियोजन गर्ने गरेको छ  ।

‘सानो बजेट कहाँकहाँ पुर्‍याउनु ?’–प्रधानाध्यापक विश्वराज उपाध्यायले भन्नु भयो–‘पाठशाला दक्ष पुरोहित जन्माउन खोलिएको हो । तर, भौतिक संरचना र शिक्षक अभावले आफैँमा अस्तव्यस्त छ ।’

पाठशाला खोलिएपछि संस्कृत भाषा पढ्न विद्यार्थी त इच्छुक देखिन्छन् । तर, विद्यालयको वातावरण निकै अस्तव्यस्त बनेको उहाँले बताउनु भयो ।

‘न खेलमैदान छ, न त पठनपाठनको राम्रो वातावरण नै ।’–उहाँले भन्नु भयोे–‘प्रशासनिक कामकाज र कक्षा सञ्चालन एउटै कोठाबाट गरिरहेको छु । शौचालय र खानेपानीको सुविधा भए पनि विद्यार्थीका लागि उचित फर्निचरको प्रवन्ध छैन ।’

अहिले विद्यार्थीहरू कार्पेटमा बसेर पठनपाठन गरिरहेका छन् । कक्षा १ देखि ५ सम्म १४ छात्रा र १६ छात्र छन् ।

पछिल्लो समय छात्रभन्दा छात्राले ध्यानपूर्वक संस्कृत विषय पढ्न थालेको उहाँले बताउनु भयो ।

‘पूर्वाधार अभावमा पठनपाठनमा निकै समस्या छ । सरकारले कक्षा ५ सम्म सञ्चालन गर्ने अनुमति त दियो । तर कक्षाकोठा र शिक्षक दरबन्दी दिन सकेन ।’–उहाँले भन्नु भयोे ।

पाठशालामा पाँच जना दलित विद्यार्थी भर्ना
पाठशालामा दलित र गैरदलितका विद्यार्थी पनि पढ्न पाउँछन् । जातीय आधारमा कसैलाई विभेद नगरिएको पाठशालाले जनाएको छ ।

पाठशालामा दलितका पाँच बालबालिका भर्ना भएका छन् । बेलुकी ४ देखि ६ बजेसम्म २ घण्टासम्म पाठशाला सञ्चालन हुन्छ । यही पाठशालामा पढेका रमेश न्यौपाने चन्दननाथ मन्दिरका मुख्य पुजारी छन् ।

चन्दननाथ नगरपालिका शिक्षा शाखा प्रमुख खडानन्द चौलागाईँका अनुसार चन्दननाथ नगरपालिकाले बार्षिक बजेट एकमुष्ट २ लाख ४१ हजार रुपियाँ अनुदान दिने गरेको छ ।

गुरुकुल पाठशालामा भौतिक संरचना र शिक्षकको अभाव देखिन्छ उहाँले भन्नु भयो–‘अहिले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको प्रस्तावना आह्वान भएको छ । गुरुकुल पाठशालाले त्यहाँ प्रस्तावना पठाएको खण्डमा छनोट हुने सम्भावना रहन्छ ।’


मानदत्त रावल