पाँचथर विष्फोटको घटनाका घाइते बालकहरूको उपचारबारे आयोगद्वारा अनुगमन

  ०८१ भदौ २५ गते

पाँचथर जिल्लाको फालेलुङ्ग गाउँपालिका–५ डाँडागाउँमा ०८१ भदौ १३ गते भएको विष्फोटको घटनामा परी घाइते भएका बालकहरूको उपचार र स्वास्थ्य अवस्था सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगर नेतृत्वको उच्चस्तरीय टोलीले भदौ २४ गते अनुगमन गरेको आयोगले जनाएको छ ।

किर्तिपुर अस्पतालको नेपाल क्लीफ्ट एण्ड बर्न सेन्टरमा पुगी उपचाररत बालबालिकाका अविभावक, उपचारमा संलग्न चिकित्सकहरू, अस्पतालका कार्यकारी निर्देशक लगायतसँग भेटी घाइतेहरूको स्वास्थ्य अवस्था तथा उपचारका सम्बन्धमा अनुगमन गरिएको आयोगले जनाएको हो ।

घाइते बालकहरूको स्वास्थ्य अवस्थामा सुधार हुँदै आएको जानकारी उपचारमा संलग्न चिकित्सकहरूबाट प्राप्त भएको आयोगले भदौ २४ गते जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

अनुगमनबाट जलनको उपचार गरिने अस्पतालहरूमा आर्थिक स्रोत, विशेषज्ञ जनशक्ति तथा उपकरणहरूको समेत अभाव रहेको जानकारी प्राप्त हुन आएको आयोगले उल्लेख गरेको छ ।

अनुगमनमा आयोगकी सदस्य डाक्टर लिली थापा, आयोगका सचिव मुरारिप्रसाद खरेल र अन्तर्राष्ट्रिय सन्धि अनुगमन महाशाखा प्रमुख मायादेवी शर्माको सहभागिता रहेको थियो ।

पीडित परिवारलाई जिवीकोपार्जनको व्यवस्था मिलाउन, जलनको उपचार गरिने अस्पतालहरूमा विशेषज्ञ सेवासहित आवश्यक उपकरणहरूको व्यवस्था गरी अस्पतालको सवलीकरण गर्न पनि आयोगले आग्रह गरेको छ ।

NHRC Nepal Press Release-2081-5-24


दीपकप्रसाद घिमिरे