पाँचथर, ग्रिनेड विष्फोटमा मृत्यु भएका पीडित परिवारलाई बिल बमोजिम आर्थिक सहायता प्रदान गर्ने सरकारको निर्णय

  ०८१ कात्तिक १० गते

फालेलुङ गाउँपालिका-५, प्राङबुङ्ग, डाडाँगाउँमा ०८१ भदौ १३ गते ग्रिनेड विष्फोटमा परी ज्यान गुमाएका पीडित परिवारलाई सरकारले बिल बमोजिम बढीमा ५ लाख रुपियाँ आर्थिक सहयोग प्रदान गर्ने भएको छ ।

नेपाल सरकार, मन्त्रीपरिषद्को ०८१ कात्तिक ८ गतेको बैठकले ‘पाँचथर जिल्लाको फालेलुङ गाउँपालिका वडा न.५ मा भएको विष्फोटमा परी मृत्यु भएका दिप्सन साँवा र प्रिन्सा साँवाको एकाघरको परिवारलाई प्रतिपरिवार बिलबमोजिम बढीमा पाँच लाखका दरले आर्थिक सहायता उपलब्ध गराउने’

Photo 202401024 Pachathar

फालेलुङ गाउँपालिका-५, प्राङबुङ्ग, डाडाँगाउस्थित ५१ वर्षीय आइतराज केरूङको घरको आँगनमा ०८१ भदौ १३ गते विहिवार अपरान्हृ साढे तीन बजे होम मेड ग्रिनेड विष्फोट हुँदा २८ वर्षीय दीलिप साँवा र २७ वर्षीया पुजा केरूङका अढाई वर्षीया छोरी प्रिन्सा साँवा र ११ वर्षीय छोरा दिप्सन साँवाको मृत्यु भएको थियो । सो विष्फोटमा ११ वर्षीय बालक पवन राई र सात वर्षीय बालक दिप्सन सावा घाइते भएका थिए ।  घाइते दुवै जनाको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचार भइरहेको छ ।

२८ वर्षीय दीलिप साँवा र २७ वर्षीया पुजा केरूङकी छोरी प्रिन्साको जिल्ला अस्पताल, इलाममा भदौ १३ गते राति नौ बजे र छोरा दिप्सनको झापाको विर्तामोडस्थित वि एण्ड सी अस्पतालमा उपचारका क्रममा भदौ १४ गते मृत्यु भएको थियो ।

प्रिन्साको शवको पोेष्टमार्टम भदौ १४ गते जिल्ला अस्पताल, इलाम र दिप्सनको शवको पोष्टमार्टम मेची प्रादेशिक अस्पताल,भद्रपुरमा भदौ १४ गते गरिएको थियो । भदौ १५ गते पीडित परिवारले फालेलुङ गाउँपालिका-५, प्राङबुङ्ग, डाडाँगाउमा अन्तिम संस्कार गरेको थियो ।

विष्फोटमा घाइते भएका ११ वर्षीय बालक पवन राई र सात वर्षीय बालक दिप्सन सावाको भदौ १९ गतेदेखि किर्तिपुरस्थित वर्न अस्पतालको जलन युनिटमा उपचार भएको डाक्टर शङ्करमान राईले बताउनु भयो । ०८१ भदौ २४ गते अप्रेशन भएपश्चात भदौ २५ गते दुवै जना बालकलाई जनरल वार्डमा राखि उपचार भइरहेको छ ।

मृतकका परिवारलाई सङ्घीय सरकारले ५ लाख रुपियाँ राहत उपलब्ध गराउने निर्णय ०८१ भदौ २४ गते मन्त्री परिषद् बैठकले गरेको थियो ।

सरकारको सोही निर्णयअनुसार घाइते ११ वर्षीय बालक पवन राई र सात वर्षीय बालक दिप्सन राईको उपचार खर्च राज्यले व्यर्होने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले बताउनु भएको थियो ।

तर, मन्त्रिपरिषद्को कात्तिक ८ गतेको बैठकले बिल बमोजिम बढीमा ५ लाख रुपियाँ आर्थिक सहायता उपलब्ध गराउने भएपछि पीडित परिवारले सरकारले प्रदान गर्ने सहायता रकम पाउने वा नपाउनेमा शंशय व्यक्त गरेका छन् ।

इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगर र सिविन नेपालले ०८१ भदौ १८ गते घटनाको स्थलगत अनुगमन गरी घाइते बालकहरूलाई उपचारका तत्काल काठमाण्डौँ पुर्‍याउने व्यवस्था मिलाएको थियो ।

०८१ भदौ १८ गते जिल्ला अस्पताल,पाँचथरमा विष्फोटमा घाइते बालकको स्वास्थ्य अवस्था बुझ्दै इन्सेककर्मी ।
०८१ भदौ १८ गते जिल्ला अस्पताल,पाँचथरमा विष्फोटमा घाइते बालकको स्वास्थ्य अवस्था बुझ्दै इन्सेककर्मी ।

घटनाका विषयमा इन्सेकका अध्यक्ष डाक्टर कुन्दन अर्याल र  सिविन नेपालका अध्यक्ष माधव प्रदानले ०८१ भदौ २४ गते संयुक्त रूपमा पाँचथर बम विष्फोटनसम्बन्धमा ध्यानाकर्षणपत्र जारी गर्नु भएको थियो ।

ध्यानाकर्षणपत्रमा पाँचथर घटनाका घाइते बालबालिकाको उपचार र यस क्रममा हुने आवश्यक सम्पूर्ण खर्चको व्यवस्था नेपाल सरकारले मिलाउने प्रतिवद्धता जनाएकोमा सो को कार्यान्वयन, घाइते बालबालिकाको भविष्य सुनिश्चित गर्नका लागि उनीहरूको शिक्षा तथा स्वास्थ्य सम्पूर्ण व्यवस्था नेपाल सरकारको जिम्मेवारी, पीडित तथा मृतकका परिवारलाई राज्यका तर्फबाट सम्मानजनक क्षतिपूर्ति र राहतको व्यवस्था, घटनाको निश्पक्ष छानविन गरी दोषीलाई कानूनी दायरामा ल्याउन र देशव्यापी रूपमा विष्फोट पदार्थको खोजी गरी सो लाई निश्कृय पार्ने अभियान सञ्चालन गर्न माग गरिएको थियो ।


इवारा जबेगु लिम्बू