पाँचथरमा ८० प्रतिशत जनता स्वास्थ्य बीमाको पहुँच बाहिर

जिल्लाका ८० प्रतिशत नागरिक स्वास्थ्य बीमाको पहुँचबाट बाहिर रहेको तथ्याङ्कले देखाएको छ ।

जिल्लामा २२ हजार १ सय ७६ परिवार सङ्ख्या र ३१ हजार ९ सय सदस्य सङ्ख्या छ । जसमा स्वास्थ्य बीमित पुरूषको सङ्ख्या १६ हजार ११ जना र महिलाको सङ्ख्या १५ हजार ८ सय ८९ जना रहेको स्वास्थ्य बीमा बोर्डको फिदिमस्थित कार्यालयको तथ्याङ्कले देखाएको छ ।

राष्ट्रिय जनगणना ०७८ अनुसार जिल्लाको जनसङ्ख्या १ लाख ७२ हजार ४ सय छ । यो सङ्ख्यालाई हेर्ने हो भने जिल्लामा स्वास्थ्य बीमा नगराएकाको सङ्ख्या १ लाख ४० हजार ५ सय देखिन्छ । यो तथ्याङ्कले जिल्लामा कूल जनसङ्ख्याको १८ दशमलव ५ प्रतिशतले मात्र स्वास्थ्य बीमा गरेको स्वास्थ्य बीमा वोर्डले जनाएको छ ।

संविधानले आधारभूत स्वास्थ्य सेवालाई निशुल्क र सामाजिक सुरक्षाको हक प्रदान गरेको छ । यसका साथै राष्ट्रिय स्वास्थ्य बीमा नीतिले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार गरी स्वास्थ्य बीमाबाट सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने नीति लिएको छ ।

तर, हालसम्म पनि जिल्लामा कुल जनसंख्याको करीब ८० प्रतिशत नागरिक स्वास्थ्य बीमाको पहुँच बाहिर रहेको तथ्याङ्कमा देखिन्छ ।

एक ओटा नगरपालिका र सात ओटा गाउँपालिकासहित जिल्लामा आठ ओटा स्थानीय तह छन् । ०७२ चैत २५ गतेबाट सुरूआत भएको स्वास्थ्य बीमा कार्यक्रम जिल्लामा ०७७ माघ देखि लागु भएको हो । तीन वर्षको अवधिमा जिल्लाको फाल्गुनन्द गाउँपालिकाका २१ हजार २ साय ७९ जनसंख्यामध्ये ३ हजार ५ सय ३८ जना स्वास्थ्य बीमाको पहुँचमा छन् । फाल्गुनन्द गाउँपालिका उपाध्यक्ष ठाकुरसिंह नेम्बाङले प्रत्येक वडामार्फत जेष्ठ नागरिकको हकमा र रातो कार्ड भएका अपाङ्गता भएकाहरूको हकमा निशुल्क स्वास्थ्य बीमाको प्रबन्ध गरिएको बताउनु भयो ।

फाल्गुनन्द गाउँपालिकाले आर्थिक वर्ष २०७९-८० देखि नीति तथा कार्यक्रममा स्वास्थ्य बीमा कार्यक्रमलाई प्रत्येक वडामा वार्षिक ३० जनाका दरले स्वास्थ्य बीमामा आवद्ध गर्न प्रोत्साहन गर्ने नीति लिएको छ । फिदिम नगरपालिका-३ का वडाध्यक्ष नरेन्द्र गुरुङले स्वास्थ्य बीमा अभिकर्तामार्फत वडाका नागरिकहरूलाई स्वास्थ्य बीमाको पहुँचमा ल्याउँदै गरेको बताउनु भयो । ‘‘वडाबाट परामर्श दिन्छौं, कोही इच्छुक भए घरैमा गएर बीमा गराउँदै आएका छौं’’, उहाँले भन्नुभयो । फिदिम नगरपालिकामा रहेका ४८ हजार ४ सय ९५ जनसङ्ख्यामा ११ हजार ७ सय ९४ जनाले मात्र स्वास्थ्य बीमा गरेका छन् ।

याङवरक गाउँपालिका रहेका १६ हजार ८ सय २१ जनसङ्ख्यामध्ये स्वास्थ्य बीमा गराएका बीमितको सङ्ख्या २ हजार १ सय ७६ रहेको छ । हिलिहाङ गाउँपालिकाको कुल जनसङ्ख्या १९ हजार ८५ मध्ये २ हजार ४ सय ९० जनाले स्वास्थ्य बीमा गराएका छन् । फालेलुङ गाउँपालिकाका २० हजार ३ सय ६१ जनसङ्ख्यामध्ये २ हजार ६ सय ४४ ले स्वास्थ्य बीमा गराएका छन् । कुम्मायक गाउँपालिकाका १२ हजार ७ सय ४६ जनामध्ये १ हजार ९ सय ३ जना बीमाको स्वास्थ्य बीमाको पहुँचमा छन् ।

तुम्वेवा गाउँपालिकाका ११ हजार १ सय ८९ जनसङ्ख्यामध्ये स्वास्थ्य बीमा गराएका नागरिकको सङ्ख्या २ हजार ३ सय ७८ छ । मिक्लाजुङ गाउँपालिकाका २१ हजार ६१ मध्ये ४ हजार ८ सय ७७ जनसङ्ख्याले मात्र स्वास्थ्य बीमा गराएका छन् । एक परिवारमा पाँच जनाको एक वर्षको ३ हजार ५ सय रुपियाँ तिरेर अथवा त्यो भन्दा बढी सङ्ख्या थप हुन गए सात सय रुपियाँ थप गर्दै स्वास्थ्य बीमामा आवद्ध सेवा प्रदायक स्वास्थ्य संस्थाबाट सेवा लिन सकिन्छ ।

स्वास्थ्य बीमा गरेको कार्ड लगेर उपचारमा गए १ लाख रुपियाँ सम्मको उपचारमा सरकारी अस्पतालमा ९० प्रतिशत र संस्थागत अस्पतालमा ८० प्रतिशत छुट पाइन्छ । सबै नागरिकले स्वास्थ्य बीमा गर्न आवश्यक रहेको स्वास्थ्य बीमा बोर्ड पाँचथरका प्रमुख सपना लिम्बुले बताउनु भयो । फालेलुङ गाउँपालिका-८ का स्वास्थ्य शाखा प्रमुख केल्भिना चेम्जोङले स्वास्थ्य बीमाबाट थोरै खर्चले धेरै लाभ लिन सकिने बताउनु भयो । कतिपय आर्थिक अभावका कारण वर्षौं रोग पालेर बस्नुपर्ने बाध्यता छ । स्वास्थ्य बीमाको सुविधाले स्वास्थ्य सेवामा आमनागरिकलाई सहयोग पुग्ने फालेलुङ गाउँपालिका-८ का स्वास्थ्य शाखा प्रमुख केल्भिना चेम्जोङको भनाइ छ ।


इवारा जवेगु लिम्बू