पाँचथरका दुई ओटा स्थानीय तहद्वारा स्थानीय पाठ्यक्रम निर्माण

  ०८० भदौ ११ गते

नेपालको संविधान, २०७२ ले विद्यालय तहको शिक्षालाई स्थानीय सरकारको कार्यक्षेत्रभित्र तोकेको छ ।

संविधानको अनुसूची-८ मा स्थानीय तहको अधिकारसम्बन्धी व्यवस्था छ ।

संविधानको धारा ५७ को उपधारा ४, धारा २१४ को उपधारा २, धारा २२१ को उपधारा २  र धारा २६६  को उपधारा १ मा स्थानीय तहको अधिकार सूची छ ।

सोही अनुसार आधारभूत र माध्यमिक तहको शिक्षाको अधिकार स्थानीय तहलाई छ ।

संविधान प्रदत्त अधिकार कार्यान्वयन गर्ने क्रममा राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ ले हरेक स्थानीय तहलाई स्थानीय पाठ्यक्रम निर्माण गरी विद्यालयहरूमा कार्यान्वयन गर्न दिशानिर्देश गरेको छ ।

स्थानीय तहको अधिकार बमोजिम पाँचथरका दुई ओटा स्थानीय तहले स्थानीय पाठ्यक्रम निर्माण गरी कार्यान्वयनामा ल्याएका छन् ।

फिदिम नगरपालिका र याङ्वरक गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरी कार्यान्वयनमा ल्याएका हुन् ।

एक नगरपालिका र सात ओटा गाउँपालिका गरी जिल्लामा आठ ओटा स्थानीय तह छन् । स्थानीय तहमध्ये दुई ओटा स्थानीय तहले पाठ्यक्रम निर्माण गरी कार्यान्वयनमा ल्याएका हुन् ।

फिदिम नगरपालिकामा निर्माण भएको पाठ्यक्रममा भाषा, साहित्य, कला र परम्परा, ट्राफिक नियम, पर्यटन, दैनिक आहार, स्थानीय ज्ञान सीप र प्रविधि, कृषि, जडिबुटी, स्थानीय खेलहरू, योग, बचत, लिङ्ग र लैङ्गिकता आदि गरी २१ ओटा विषय समेटिएका छन् । यो पाठ्यक्रम आधारभूत तह (कक्षा ८) सम्मका लागि तयार पारिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख निर्मला दाहालले बताउनु भयो । १४ ओटा वडा रहेको फिदिम नगरपालिकामा ५९ ओटा आधारभूत विद्यालय छन् ।

याङवरक गाउँपालिकामा निर्माण भएको स्थानीय पाठ्यक्रममा स्थानीय तहभित्र रहेका धार्मिकस्थल, कला, साहित्य, सस्कृति, खानपान, भाषा, कृषि, पशुपालनलगायत आठ ओटा विषयवस्तुहरू समेटिएको याङवरक गाउँपालिका शिक्षा शाखा प्रमुख मदन केसीले बताउनु भयो ।

जिल्लाको उत्तरपूर्वी याङवरक गाउँपालिकामा पाँच ओटा वडामा ३० ओटा आधारभूत विद्यालय छन् ।

स्थानीय सेरोफेरोको यथार्थलाई आत्मसाथ गरी प्रत्येक बालबालिकालाई स्थानीय परिवेशको बारेमा जान्ने, बुझ्ने र जानकारी दिने उद्देश्यले स्थानीय पाठ्यक्रम निर्माण गरेको फिदिम नगरपालिकाका उपमेयर राधाकृष्ण न्यौपानेले बताउनु भयो । उहाँले भन्नुभयो “स्थानीय परिवेशसँग जोड्दै बालबालिकाहरूमा रहेको ज्ञान, सीप र क्षमता अभिबृद्धिका लागि स्थानीय पाठ्यक्रम कोशे ढुङ्गा सावित हुने विश्वास लिएका छौँ” ।

निर्माण सम्पन्न भएका स्थानीय पाठ्यक्रम यसै शैक्षिक सत्रदेखि लागू हुने भएका छन् । जिल्लाका दुई ओटा स्थानीय तहले तयार गरेको पाठ्यक्रम विद्यालयहरूमा पुर्‍याइसकिएको छ ।

नेपालको संविधानले आधारभूत र माध्यमिक तह सम्मको शिक्षाको सम्पूर्ण अधिकार स्थानीय तहलाई दिएको छ । संघीय सरकारले जारी गरेको राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ अनुसार प्रत्येक स्थानीय तहले स्थानीय पाठ्यक्रम बनाएर कार्यान्वयन गर्नुपर्ने व्यवस्था छ ।

जिल्लामा माध्यमिक र आधारभूत गरी ४ सय २३ ओटा सामुदायिक विद्यालय रहेको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख युगमणि सवेहाङले बताउनु भएको छ ।


इवारा जवेगु लिम्बू