पहिलो त्रैमासिक परीक्षा सकिँदासमेत विद्यार्थीले पाठ्यपुस्तक पाएनन्

  ०७३ साउन २५ गते

जनक शिक्षा सामग्री केन्द्रको लापरबाहीका कारण धनकुटा नपा-७ चुलिवनस्थित त्रिवेणी उच्चमाविमा अध्ययनरत कक्षा-९ का विद्यार्थीहरूले पहिलो त्रैमासिक परीक्षा सकिँदासमेत पुरै पाठ्यपुस्तक पाउन सकेका छैनन् ।

सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले पहिलो त्रैमासिक परीक्षा पुस्तकबिना नै दिएको बताएका छन् । ऐच्छिक विषयको रूपमा सो विद्यालयमा जनसङ्ख्या शिक्षा विषय पठनपाठन हुने गर्दछ । तर, जनक शिक्षा सामग्री केन्द्रले समयमा पुस्तक छपाएर नपठाएपछि शैक्षिक सत्र शुरू भएको चार महिना बितिसक्दासमेत पुरै विद्यार्थीले पुस्तक पाउने अवस्था नरहेको विद्यालयका प्राचार्य इश्वरीप्रसाद अधिकारीले बताए ।

सो विद्यालयले पुस्तकको खरिदको लागि विराट पुस्तक पसलमार्फत शैक्षिक सत्र सुरू हुनु अगावै रकम भुक्तानी गरिसकेको छ । विराट पुस्तक पसलले पनि ०७२ चैत २६ गते नै जनसङ्ख्या शिक्षा ८० ओटा पुस्तक खरिदको लागि रकम जनक शिक्षा सामग्री पूर्वाञ्चल क्षेत्रीय कार्यालयमार्फत जम्मा गरी सकेको छ । तर, हालसम्म ८० ओटा पुस्तकमा ३७ ओटा मात्र पुस्तक प्राप्त भएको प्राचार्य अधिकारीले बताए ।

पाठ्यपुस्तक समयमा नआएपछि विराट पुस्तक पसलले पटक-पटक जनक शिक्षा सामग्री क्षेत्रीय कार्यालयमार्फत ताकेता गरेपनि चाँडै आउँछ भन्दै आलटाल गर्ने गरेको विराट पुस्तक पसलका प्रोपाइटर युवराज निरौलाले बताए ।

विद्यार्थीको सङ्ख्या अनुसार पुस्तक नहुँदा पठनपाठन गर्न समस्या भएको विद्यालयका विषय शिक्षक रामबहादुर श्रेष्ठले बताए । उनले भने-'सबै विद्यार्थीसँग पुस्तक छैन । विद्यार्थीहरूलाई गृहकार्य दिन र परीक्षा गराउनसमेत कठिन भएको छ ।' कक्षा-९ मा विद्यार्थी सङ्ख्या ८७ जना रहेपनि पुस्तक ३७ जनासँग मात्र भएको विद्यार्थीहरूले बताएका छन् । समयमा पुस्तक नपाएपछि पहिलो त्रैमासिक परीक्षा पुस्तकबिना नै दिएको कक्षा-९ मा अध्ययनरत विद्यार्थी साजन राईले बताए ।


सन्तोष रूचाल