पहिलो त्रैमासिक परीक्षा सकियो, सूर्योदयका विद्यार्थीले पाएनन् पाठ्यपुस्तक
सूर्योदय नगरपालिकाले ०७८ चैत १५ गते तामझामका साथ स्थानीय पाठ्यपुस्तक ‘हाम्रो सूर्योदय’ लोकार्पण गर्यो । नगरले कक्षा एक देखि आठसम्मको पाठ्यक्रम ०७७ सालमै सार्वजनिक गरेको थियो ।
सोही आधारमा तयार गरेर कक्षा पाँचसम्मको पुस्तक सार्वजनिक गरिएको दुई वर्ष पुग्न लाग्यो । तर, विद्यार्थीले यस शैक्षिक सत्रको ०८० असोज अन्त्यसम्म पनि पुस्तक पाउन सकेका छैनन् ।
पहिलो त्रैमासिक परीक्षा सकिएको एक महिना भयो । कतिपय विद्यालयले त अर्ध वार्षिक परीक्षा नै दशैँ अघि गरिरहेका छन् । तर, विद्यार्थीले पुस्तक नै नपढी के परीक्षा लेख्छन् ? अविभावकको गुनासो छ ।
चन्द्रकला आधारभूत विद्यालय सूर्योदय नगरपालिका-१ मा अध्ययनरत ६ वर्षीया बालिका सुवेक्षा सापकोटाका ४० वर्षीय सुवास सापकोटा भन्नुभयो‘बुक भएको भए घरमा पनि पढाउँथ्यौँ । स्कुलमा पुस्तक बिना पढाएको भरमा यी अबोध बालबालिकाले परीक्षामा के लेखे होला र !’
नगरपालिकाले पठाएको पीडीएफ डाउनलोड गरेर सोही आधारमा शिक्षकहरूले अध्यापन गराइरहेको हिमालय माध्यमिक विद्यालयका निवर्तमान प्रधानाध्यापक नित्यानन्द सापकोटाले बताउनु भयो । ‘विद्यार्थीहरूको साथमा पुस्तक नहुँदा पठनपाठनमा समस्या भएको छ ।’ उहाँले भन्नुभयो, ‘बालबालिकालाई त नक्सा देखाएर, बुझाएर पढाउनुपर्छ त्यो पाइएको छैन । अविभावकले घरमा गृहकार्य गराउन सकेका छैनन् ।’
भाग्योदय आधारभूत विदालय सूर्योदय नगरपालिका-७ मा अध्ययनरत छात्रा प्रशंसा भट्टराईले भन्नुभयो ‘पोहोर नयाँ किताब पाएका थियौँ, यस वर्ष पाएनौँ । चियाबारी, कन्याम, अन्तु सबैतिरको कति राम्रो नक्सा थियो । दशैँको छुट्टीपछि चैँ दिनुहुन्छ रे ।’
नगरपालिकाका शिक्षा शाखा प्रमुख योगनिधि भट्टराईले पुस्तक छपाइको काम अन्तिम चरणमा पुगेको बताउनु भयो । गत वर्ष नगरपालिकाले ५ हजारप्रति पुस्तक निशुल्क बाँडेको थियो, यस वर्ष प्राविधिक कारणले ढिलाइ हो, दशैँलगत्तै १२ हजारप्रति पुस्तक निशुल्क बाँड्ने योजना छ ।
‘पोहोर कक्षा एकदेखि कक्षा पाँचसम्मको लागि मात्र थियो । यस वर्ष कक्षा ६ देखि आठसम्मको पाठ्यपुस्तक समेत छापिएर एकैसाथ आउन लागेको छ ।’ शिक्षा शाखा प्रमुख भट्टराइले भन्नुभयो, ‘कक्षा पाँचसम्मका पुस्तकमा केही परिमार्जन गर्नुपर्ने र कक्षा ६ र आठसम्मको नयाँ लेखन गर्नुपर्ने भएकाले समय लागेको हो ।’ एकैपटक पुस्तक छपाउँदा कम खर्चिलो हुने भएकाले परिमार्जन र पुनः लेखन गरेर कक्षा एकदेखि आठसम्मको पुस्तक एकैपटक छपाउन लागिएको सूर्योदयन नगरपालिकाका शिक्षा शाखा प्रमुख योगनिधि भट्टराईको भनाइ छ ।
करिव तीन वर्ष लगाएर विज्ञहरूको समूहले विभिन्न चरणमा जनप्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापक र शिक्षा सम्बद्ध सरोकारवालालगायतसँग छलफल गरी तयार गरेको पाठ्यक्रममा आधारित रहेर पुस्तक लेखिएको थियो ।
पुस्तकमा सूर्योदय नगरपालिकाको चिनारी, स्थानीय धार्मिक स्थल, विविध जातजाति, स्थानीय चाडपर्व, स्थानीय भाषा, स्थानीय खानेकुरा, स्थानीय पर्यटन, श्रोत तथा साधन लगायतका विषय समेटिएका छन् ।
पुस्तकमा बालबालिकाले विद्यालयको आधारभूत तहमा स्थानीय जनप्रतिनिधिको काम, कर्तव्य र अधिकारका नीतिगत व्यवस्थादेखि नगरपालिकालाई समृद्ध बनाउने सम्मका विषयसमेत समेटिएका छन् ।
आधारभूत तहको ८ सय पूर्णाङ्कमध्ये १ सय पूर्णाङ्कको पाठ्यक्रम स्थानीय तहले नै तयार गर्न पाउने प्रावधान अनुसार नगरपालिकाले पाठ्यक्रममा आधारित पाठ्यपुस्तक तयार पारेको हो ।
पहिलो वर्ष जसोतसो पुस्तक पुगेको थियो, तर यस वर्ष विद्यार्थीले पुस्तक समयमा नपाउँदा असहज भएको सूर्योदय नगरपालिकाका सामाजिक विकास समिति संयोजक डिक बम्जनले बताउनु भयो । पुस्तक छपाइ ढिलाइ हुँदा विद्यार्र्थीलाई समस्या परेको विषयले आफूहरु चिन्तित भएको बम्जनको भनाइ छ ।
स्थानीय पाठ्यपुस्तकले विद्यार्थीहरूलाई नगरपालिकाको भौगोलिक, सांस्कृतिक र ऐतिहासिक जानकारी दिनुका साथै उनीहरूलाई स्थानीय भाषा,शैली र परम्परासँग परिचित गराउने र थप व्यवहारिक शिक्षासमेत प्रदान गर्ने विश्वास राखिएको नगरप्रमुख रणबहादुर राईले बताउनु भयो । नगरपालिकाले शुरू गरेको नगरको इच्छा छोरी बुहारीलाई शिक्षा, गणितसँग खेलौँ गणितीय धारणा बसाऔँ जस्ता शिक्षा सम्बद्ध कार्यक्रमहरूले नगरपालिकाको सञ्चालन गरेको छ ।
सूर्योदय नगरपालिकामा ६६ ओटा सामुदायिक र ३१ ओटा संस्थागत गरी ९७ ओटा विद्यालयमा ११ हजार विद्यार्थी अध्ययनरत छन् । ती मध्ये सामुदायिक १४ ओटा मावि र ५२ ओटा आधारभूत विद्यालय छन् ।
मनोज अधिकारी
सम्बन्धित समाचारहरू
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सिराहा जिल्ला लाहान नपा-१० स्थायी घर भई चौतारा साँगाचोकगढी नपा-५ स्थित स्वावलम्बन लघुवित्त कार्यालय चौताराका शाखा प्रमुख ४६ वर्षीय दिपक भूजेललाई असोज…
निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा सात जना गिरफ्तार
बानेश्वरस्थित निषेधित क्षेत्र तोकिएको संसद भवन अगाडि प्रदर्शन गरेको आरोपमा प्रहरीले असोज ४ गते सात जनालाई गिरफ्तार गरेको छ । प्रहरी वृत्त गौशालाका इन्स्पेक्टर लोकेन्द्र सिंह गुरुका अनुसार गिरफ्तार पर्नेमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनकोशी गाउँपालिका-३ का २३ वर्षीय एक युवकलाई असोज २ गिरफ्तार गरेको छ । पीडित युवतीलाई ०८१ साउन १५ गते बलात्कार गरेको आरोपमा पीडित…
जिल्ला अस्पतालमै छैन निःशुल्क वितरण गर्नुपर्ने ९२ प्रकारका औषधि
जिल्ला सदरमुकाममा रहेको जिल्लास्तरीय बेनी अस्पतालमा निःशुल्क रुपमा वितरण गर्नुपर्ने औषधिाको सहज आपुर्ति नहुँदा सेवाग्राही बिरामी समस्यामा परेका छन् । बेनी अस्पतालको हाताभित्र रहेको अस्पतालले सञ्चालन गरेको निःशुल्क औषधि वितरण…
बर्दिया अस्पतालमा एचडीयु र आइसीयु सेवा सञ्चालन हुन नसक्दा बिरामीलाई सास्ती
बर्दिया अस्पतालमा जनशक्ति अभावले अक्सिजन सहितको उच्चस्तरीय एचडीयु र आइसीयु सेवा सञ्चालन हुन नसक्दा बिरामीलाई सास्ती भएको छ । करिब साढे दुई करोडको लगानीमा बनेको एचडीयु र आइसीयु सेवा जनशक्ति…