पहिरो जाँदा गाउँनै जोखिममा : उद्धारमा समस्या

  ०८० साउन १४ गते

तीन हप्तादेखि नियमित रुपमा परेको अविरल वर्षाका कारण जिल्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका–२ को रिप गाउँ उच्च जोखिममा रहेको छ । अविरल वर्षाका कारण साउन १२ गते राती रिप गाउँ वरिपरी ठूलो बाढी पहिरो जाँदा गाउँ नै उच्च जोखिममा रहेको स्थानीय भक्ति फडेराले बताउनु भएको छ । रातीदेखि बाढी पहिरो आउन थालेपछि गाउँका नागरिक बिचको टाप्पुमा रहेको र वरिपरी हिलाम्मे पहिरो बगिरहेको स्थानीय फडेराले बताउनु भएको हो ।

उहाँका अनुसार ''हालसम्म हामीहरु बिचको टाप्पुबाट वारपार गर्ने कुनै स्थान छैन ढिलो भए उक्त गाउँमा रहेको पाँच सय भन्दा बढी नागरिक पहिरोमा विलयन हुने गुनासो गर्नु भएको छ । गाउँको विधुत, खानेपानीको मुहान र लगाएको बाली समेत बगाएर लगिसक्यो अब बाँकी एउटा गाउँ र हामी मात्रै छाैँ कतिखेर बगाउने हो पत्तो नै छैन ।''

दुई दिनदेखि घरभित्र नबसेर भोकभोकै बाहिर खुला ठाउँमा बसेका छौँ । सरोकारवाला निकायसँग उद्धारको अनुरोध गरेका छौँ तरपनि उद्धार हुन सकेको छैन अर्का स्थानीय दलजित कार्कीले गुनासो गर्नु भएको छ । सिंगो गाउँनै जोखिममा रहेको साेही गाउँपालिकाका २ नम्बर वडा अध्यक्ष सिद्ध कार्कीले बताउनु भएको छ ।

पहिरोले ५० हजार हेक्टर कृषि क्षेत्र र आवास क्षेत्रमा क्षति पुर्याएको छ । रिपगाडको खोलाको पुल, रिपगाड़ खोला जलविद्युत, लिप्ने खोला पुल पुर्णरुपमा क्षति भइ आवातजावतमा समस्या आएको भएको छ । यस्तै गरी खानेपानी, सञ्चार, शिक्षामा पूर्ण अवरोध सृजना भइ जनजीवन समेत प्रभावित भएको छ ।

स्थानीयले पहिरोबाट पुर्याएको क्षतिको अनुगमन गरी राहत तथा पीडितलाई उद्धार गर्न प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेल समक्ष साउन १३ गते नै ज्ञापन पत्र बुझाएका छन् ।

प्रमुख जिल्ला अधिकारी पौडेलले जोखिम रहेको जानकारी पाएपछि साउन १३ गते दिउसो सदरमुकाम सिमकोटबाट इन्स्पेक्टर राजन प्रसाद भट्टराईको नेतृवमा ५५ जनाको सुरक्षाकर्मीको टोली बाढीपहिरो क्षेत्रतर्फ प्रस्थान गरेको बताउनु भएको छ ।

उक्त स्थानमा पुग्न १४ घण्टा लाग्ने गर्दछ । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सहितको टोली आउने भने पनि हालसम्म नआएपछि सहायक जिल्ला अधिकारी अमृत प्रसाद सुबेदी नेतृत्वको टोली सिमकोटबाट हेलिकप्टरमा सोही दिन साँझ ५ बजे उक्त क्षेत्रतिर प्रस्थान गरेको छ ।


नन्द सिंह