पहिरोले सडक बगाउँदा जनजीवन कष्टकर

  ०८१ भदौ २८ गते

भोजपुरको पाँचधारे-चखेवा सडक पहिरोले बगाएपछि सडक अवरूद्ध भएको छ ।

पाँचधारे-चखेवा सडक खण्डको रूमाथुम्की क्षेत्रको घुर्विसेमा पहिरो जाँदा आवतजावतमा समस्या भएको हो । टेम्केमैयुङ गाउँपालिका-९ रूमाथुम्की क्षेत्रको घुर्विसेमा क्षेत्रमा पहिरो झरेपछि बाटो बन्द हुँदा एम्बुलेन्सलगातका सवारी साधन चल्न सकेका छैनन् ।

बाढीका कारण मुख्य-मुख्य सडक भत्किएपछि एम्बुलेन्स सञ्चालन गर्न, खााद्यन्न सामग्री ढुवानी तथा बालबालिकालाई विद्यालय आऊजाऊमा सबैभन्दा बढी समस्या भएको छ ।

पाँचधारे-चखेवा सडक खण्डको ५ सय मिटर सडक ०८१ साउन १६ र १७ गते आएको बाढीले बगाउँदा स्थानीयको जनजीवन कष्टकर भएको हो । पहिलोले सडक विग्रिएको लामो समय भएपनि मर्मत सम्भारमा राज्यको ध्यान नजाँदा स्थानीयले हैरानीसँगै सास्ती खेप्नु परेको छ । पहिरोले भत्किएको सडकले छिमेकी जिल्ला खोटाङलाई जोडेको छ । सडक माथिबाट ठूलो पहिरो झरेपछि पैदल यात्रा गर्नसमेत जोखिम भएको स्थानीय एकराज विष्टले बताउनु भयो ।

‘पहिरोले सडक बगाउँदा आवतजावतमा समस्या छ’ उहाँले भन्नुभयो, ‘निरन्तर पहिरो झरिरहेकोले पैदल हिड्नसमेत समस्या छ । सडक अवरोध हुँदा जनजीवन कष्टकर बनेको छ । अवरोध सडकलाई सञ्चालनमा ल्याउन राज्यले ध्यान दिन आवश्यक छ।’

सडक अवरोध हुँदा भोजपुरको पश्चिमी क्षेत्रका नागरिकसँगै छिमेकी जिल्ल्ला खोटाङका स्थानीयलाई समस्या रहेको टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेका मानबहादुर सुनारले बताउनु भयो । ‘माथिल्लो भेगमा पहिरो झरेर बाढी आउँदा मुनितिर रहेका अन्य सडक पनि अवरोध भएका छन् ।’ उहाँले भन्नुभयो, ‘पहिरोले सडक अवरोध हुँदा जनजीवन निकै कष्टकर भएको छ । सडक सञ्चालनमा राज्यले चाँडो पहल गरी दिए सहज हुन्थ्यो ।’

राउते खोलाको शिर घुर्विसे क्षेत्रमा पहिरो जाँदा तल्लो क्षेत्रका बस्तीसमेत जोखिम रहेको टेम्केमैयुङ गाउँपालिका-९ वडाध्यक्ष नभराज माङ्पाहाङले बताउनु भयो । राउते, लेर्खक काभ्रेलगायत गाउँका करिव २० घर परिवार पहिरोको जोखिममा रहेको वडाध्यक्ष माङ्पाहाङ्को भनाइ छ ।

‘पहिरोको कारण पाँचधारे-चखेवा सडक अवरोध भएको छ’ वडाध्यक्ष माङ्पाहाङले भन्नुभयो, ‘यो क्षेत्रमा वर्षेनी पहिरो जाँदा तल्लो क्षेत्रका बस्ती जोखिममा पर्ने गरेका छन् । राउते खोलामा आउने बाढीको कारण तल्लो भेगमा ठूलो क्षति पुग्ने गरेको छ ।’ अवरूद्ध सडक खुलाइ एम्बुलेन्सलगायतका सवारी साधन सञ्चलानमा ल्याउन पहल थालिएको वडाध्यक्ष माङपााहाङको भनाइ छ ।

Photo 20240911 Bhojhapur (1)

Photo 20240911 Bhojhapur (2)

Photo 20240911 Bhojhapur (3)

Photo 20240911 Bhojhapur (4)

Photo 20240911 Bhojhapur (5)


गणेश विष्ट