पहिरोले विद्यालय भवन भत्काएपछि पठनपाठनमा समस्या

  ०८० भदौ १२ गते

हतुवागढी गाउँपालिका-५ स्थित शान्तिसोया आधारभूत विद्यालयको भवन पहिरोले भत्काएपछि पठनपाठनमा समस्या भएको छ ।

Photo 20230829 Bhojhapur (1)

विद्यालयको शिशु कक्षा र दिवा खाजा बनाउने कोठा ०८० भदौ ८ गते खसेको पहिरोले भत्काएपछि पठनपाठन प्रभावित भएको विद्यालयका प्रधानाध्यापक ज्ञानराज खुलालले बताउनु भयो ।

प्रअ खुलालले भन्नुभयो ‘भदौ ८ गतेको वर्षातले भवन भत्किएको छ । शिशु कक्षा र दिवा खाजा बनाउने कोठा पूर्णरूपमा क्षति हुँदा पठनपाठनमा समस्या छ । वर्षातको कारण अन्य कक्षा कोठासमेत चर्किएका छन् ।’ बालबालिकाहरुलाई जोखिम मोलेर पढाउनु पर्ने बाध्यता छ ।

पहिरोले विद्यालय भवन भत्काउँदा शान्तिसोया आधारभूत विद्यालयमा अध्ययनरत २ सय ६ जना बालबालिकाको पठनपाठन प्रभावित भएको प्रधानाध्यापक ज्ञानराज खुलालको भनाइ छ ।

हतुवागढी गाउँपालिका-१ मा स्थित भीमेश्वरी आधारभूत विद्यालयमा समेत पहिरोले क्षति पुर्‍याएको छ । वर्षातले विद्यालयको कम्पाउण्डवाल भत्किएको प्रधानाध्यापक हर्कराज प्रधानले बताउनुभयो । ‘विद्यालय कम्पाउण्डको २० मिटर मेसेनरी वाल भत्किएको छ ।’

प्रधानाध्यापक प्रधानले भन्नुभयो ‘विद्यालयको कम्पाउण्ड वाल भत्किएसँगै विद्यालय भवन समेत जोखिममा परेको छ । कतिबेला भत्किने हो, टुङ्गो छैन । जोखिम मोलेर पढाउन बाध्य छौँ ।’

विद्यालयको पर्खाल भत्किएको जानकारी पाउनसाथ स्थलगत रूपमा अनुगमन गरिएको हतुवागढी गाउँपालिका-१ का वडाध्यक्ष कुमार विष्टले बताउनु भयो । पर्खाल भत्किएसँगै पठनपाठनमा समेत समस्या भएको वडाध्यक्ष विष्टले बताउनु भयो ।

निरन्तरको वर्षातले गाउँपालिका भित्रका दुई ओटा विद्यालय, विभिन्न ठाउँमा खसेको पहिरोले सडक अवरूद्ध हुँदा एम्बुलेन्सलगायतका सवारी साधन सञ्चालनमा कठिनाइ भएको छ ।

Photo 20230829 Bhojhapur (2)

Photo 20230829 Bhojhapur (3)

Photo 20230829 Bhojhapur (4)

Photo 20230829 Bhojhapur (5)

Photo 20230829 Bhojhapur (6)

Photo 20230829 Bhojhapur (7)


गणेश विष्ट