पहिरोले पुरिएर दुई घर विस्थापित, १६ घर जोखिममा

  ०८० असोज ११ गते

मालिका गाउँपालिका–४ महभीरको ओडारबोटमा बस्ती भन्दा माथिबाट खसेको पहिरोले दुई ओटा घर पुरिए पछि दुई परिवार विस्थापित भएका छन् भने १६ घर पहिरोको उच्च जोखिममा परेका छन् ।

भारी वर्षासंगै सिद्धथान भीरबाट खसेको पहिरोले स्थानीय काले विक र रबिलाल घर्तिको घर पूर्ण रुपमा क्षति भएको हो । रातको समयमा पहिरो खस्न थालेपछि स्थानीयले भागदौड गरेर ज्यान जोगाएका थिए । भारी वर्षा संगै खसेको पहिरोले काले विकको एक तले र घर्तीको दुई तले घर पूर्ण क्षती भएको मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले जानकारी दिनुभयो ।

पहिरोले घर्तीको गोठमा बाँधिएका एक गोरु र एक राँगो समेत पुरिएर मृत्यु भएको छ । विस्थापित विक र घर्तीको परिवारलाई छिमेकीको घरमा बस्ने प्रवन्ध मिलाइएको छ । काले विकको परिवारमा दुई जना महिला र दुई जना पुरुष गरी चार जना र रबिलाल घर्तीको घरमा तीन जना महिला र दुई पुरुष सहित पाँच जनागरी कुल नौ जना पूर्ण रुपमा विस्थापित भएको मालिका गाउँपालिका– ४ का वडा सदस्य गर्भे गुरुङले जानकारी दिनुभयो ।

पहिरोले क्षति भएको जानकारी पाए पछि परिवारका सदस्यहरुलाई सुरक्षित स्थानमा आश्रय लिएर राखिएको उहाँको भनाई छ ।

पहिरो प्रभावित क्षेत्रमा मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्वुजा, ४ नम्बर वडा अध्यक्ष भेजेन्द्रमान पुन लगायतको टोलीले निरीक्षण गर्नुका साथै पीडितको अवस्था र पहिरोले पुर्‍याएको क्षतिको अवस्थाबारे जानकारी लिनुभएको थियो ।

bisthapit gharjokhikma gharharuपहिरोले क्षती (2)


अमृतप्रसाद पौडेल