पहिरोले पाल्पामा दुई जना घाइतेः तीन स्थानीय तहको जनजीवन प्रभावित

  ०८१ असार २२ गते

पाल्पामा अविरल वर्षासहितको पहिरोले दुई जना घाइते भएसँगै तीन स्थानीय तहका नागरिकको जनजीवन प्रभावित भएकाे छ ।

रम्भा गाउँपालिका–२, फोक्सिङकोटमा सुकेको ठुङ्टेपिपलको रुख ढल्दा फोक्सिङ्गकोटको निर्माणाधीन वडा कार्यालय भवनमा क्षति पुगेको छ । निर्माण कामदार रम्भा गाउँपालिका–३ घोङसिङका १९ वर्षीय शिव गाहा र डोजर अप्रेटर इन्द्र रानाको टाउको र अनुहारमा चोट लागेको छ । घाइतेहरूको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । कार्यालय भवनसँगै निर्माणाधीन दुई कोठे सार्वजनिक शौचालयमा समेत क्षति पुगेको स्थानीय एवतकुमार सारूले बताउनु भयो ।

अविरल वर्षासँगै रिब्दीकोट गाउँपालिका–३, मालमुलमा पहिरोसहित खसेको ढुङ्गाले घर पुरिएको छ । गएराति खसेको ढुङ्गाले पुरिँदा स्थानीय मिना विकको जस्ताले छाएको एक तले कच्ची घर पूर्ण रूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । जस्ताले छाएको काठले बनेको गोठ समेत क्षतिग्रस्त भएको छ । मानिस बस्न मिल्ने अवस्था छैन । घर र गोठमा पूर्ण रूपमा क्षति पुगेको उहाँले बताउनु भयो ।

रामपुर नगरपालिका–९, मधुकोटमा पहिरोले गोठ पुरिँदा पशुचौपाया मरेका छन् । स्थानीय कमलबहादुर साठीघरेको घर माथिबाट खसेको पहिरोले एक तले कच्ची गोठ पुरिँदा भैँसीको पाडी, दुई ओटा बाख्राका पाठी र एक ओटा खसी परिएर मरेको डिएसपी श्रेष्ठले बताउनु भयो । गोठ पूर्ण रूपमा क्षतिग्रस्त भएको र करिब १ लाख ५० हजार रुपियाँ बराबरको क्षति भएको उहाँले जानकारी दिनुभयो ।

अविरल वर्षासहितको पहिरोका कारण कालीगण्डकी कोरिडोर अन्तर्गत रामपुर–पिपलडाँडा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । रम्भा गाउँपालिका-१, हुँगीस्थित सडकमा माथिबाट सालका रुखसहित खसेको पहिरोले सडक अवरुद्ध भएको र अविरल वर्षा भइरहेका कारण पहिरो पन्छाउन कठिन भएको डिएसपी श्रेष्ठले बताउनु भयो ।

यता हार्थोक–छहरा–अर्घाखाँची सडकखण्ड पनि अवरुद्ध छ । रैनादेवी छहरा गाउँपालिका-५, धुवाँपानीस्थित सडकमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध छ । त्यस्तै तानसेन हार्थोक रिडी सडक पनि अवरुद्ध छ । निर्न्तरको वर्षाले पाल्पाका विभिन्न गाउँमा पुग्ने अधिकांश कच्ची सडक अवरुद्ध भएका छन् ।

Photo06072024Palpa1

Photo06072024Palpa2

Photo06072024Palpa3

Photo06072024Palpa4

Photo06072024Palpa5


यज्ञमूर्ति तिमिल्सिना