पहिरोले ताप्लेजुङमा दुई घर बगायो, ओखलढुङ्गामा आठ परिवार विस्थापित, नौ घर जोखिममा

  ०८१ साउन ३१ गते

कोशी प्रदेशमा ०८१ जेठ २८ गतेदेखि सुरूआत भएको मनसुन पुन सक्रिय भएपछि ताप्लेजुङ र ओखलढुङ्गामा मनसुनजन्य विपद पुन सुरू भएको छ । पुन मनसुन सक्रिय भएपछि ताप्लेजुङमा पहिरोले दुई ओटा घर बगाएको छ । अविरल वर्षापछिको बाढीपहिरोले ओखलढुङ्गामा आठ परिवार विस्थापित हुनु परेको छ । नौ घर जोखिममा परेका छन् ।

ताप्लेजुङ प्रतिनिधि एलिना दियालीका अनुसार फक्ताङ्लुङ गाउँपालिका-६ मा पहिरोले दुई ओटा घर बगाएको छ । पहिरोले कञ्चनजङ्गा आधार शिविर जाने पदमार्ग अन्तर्गत घुन्सा खोलाको पुलसमेत बगाएको फक्ताङ्लुङ गाउँपालिका-६ का वडाध्यक्ष पेम्बाटासी शेर्पाले बताउनु भयो । पुल नजिकै स्थानीय छिरिङथाक्चे शेर्पाले होटेल सञ्चालन गर्दै आएको घर पहिरोले बगाएको हो । शेर्पाकै अर्को घर समेत पहिरोले पुरेको वडाध्यक्ष शेर्पाले बताउनु भयो । पहिरो आएका बखत छिरिङथाक्च र उहाँकी छोरा घरमा नभएकाले मानवीय क्षति भने भएको छैन । ०८१ साउन ३१ गते बिहान २ बजेको खसेको पहिरोले दुई ओटा घर बगाएको हो । घुन्सा खोलाको ८१ मिटर लामो पुलसमेत बगाएपछि ओहोरदोहोरमा समस्या भएको छ ।

Photo 20240815 Taplejung

ओखलढुङ्गा प्रतिनिधि सरस्वती बानियाका अनुसार पहिरोले मोलुङ गाउँपालिका-१ साउने गाउँ र वडा-२ को लिपेखोलाका आठ घरपरिवार विस्थापित भएका छन् । सुनकोशी गाउँपालिका-१ आम्बोटका नौ घरपरिवार जोखिममा परेका छन् । पहिरोका कारण जमिन भासिदा साउनेका महेन्द्र विकको दुई तले कच्ची घर जोखिममा परेको छ । विक परिवार छोराको घरमा आश्रय लिएर बसेका छन् । ढुङ्गा माटोसहितको लेदो घरमा पस्दा लिपेखोलाका तारा बानिया, भगवती कार्की र गीता कार्कीको परिवार विस्थापित भएका छन् । पाखा गाउँ बस्ने कान्ता कार्की, गणेश कार्की र नानीमैया कार्कीको परिवार पनि पहिरोका कारण विस्थापित भएका छन् । सोही वडाको गहतेका प्रेमकुमारी श्रेष्ठको घर पनि पहिरोको जोखिममा रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्ण खड्काले बताउनु भयो । पहिरोले खिजिदेम्वा गाउँपालिका-८ रावादोलुकाका ५० वर्षीय बिष्णुबहादुर बस्नेतको घरमा क्षति पुगेको छ । बस्नेतका छोरा बस्दै आएका ढुङ्गा माटो जस्ताले बनेको दुई तले कच्ची घर पहिरोले पुरिएको डिएसपी खड्काले बताउनु भयो । सुनकोशी गाउँपालिका-१ आम्बोटको नौ परिवार पहिरोको उच्च जोखिममा परेका हुन् । निरन्तरको अविरल वर्षाका कारण गाउँ भन्दा माथि रहेको आइतबारे पाखाको विभिन्न भागमा पहिरो गएपछि गाउँ पहिरोको उच्च जोखिममा परेको स्थानीय मदनकुमार राईले बताउनु भयो । वर्षाका कारण आइतबारे पाखाको चार ठाउँमा पहिरो गएको राईले बताउनु भयो । गाउँ भन्दामाथि रहेको पाखामा धाजा फाटेको र निरन्तर पहिरो गइरहेको राईको भनाइ छ ।

Photo 20240814 Okhaldhunga (1)

Photo 20240814 Okhaldhunga (2)

सङ्खुवासभा प्रतिनिधि भविन कार्कीका अनुसार खाँदबारी नगरपालिका-५ रमितेमा आठ ओटा घर पहिरोको उच्च जोखिममा परेका छन् । गाउँमाथिबाट जमिन चिरिएर लगातार पहिरो खसिरहेको र पहिरो भएको ठाउँमा दुई ओटा ठूला ढुङ्गा रहेकाले पहिरोसँगै ढुङ्गा खस्ने जोखिम बढेको छ । गाउँमाथिबाट जमिन चिरिएर लगातार पहिरो खसिरहेका कारण रमितेमा आठ घर पहिरोको उच्च जोखिममा परेको खाँदबारी नगरपालिका-५ का वडाध्यक्ष टङ्कबहादुर घिमिरेले बताउनु भयो । गाउँमाथिको भीरबाट जमिन चिरिएर लगातार पहिरो खसेपछि आठ ओटा घर जोखिममा परेका हुन् । वर्खाको समयमा सडक चिरा परी जमिन भासिनुका साथै ढुङ्गा पल्टिएर घरहरू किच्ने खतरा बढेको स्थानीय रामबहादुर गुरुङले बताउनु भयो । पहिरो झरेको ठाउँमा दुई ओटा ठूलठूला ढुङ्गा रहेकाले पहिरोसँगै ती खस्ने खतरा बढेको गुरूङले बताउनु भयो । गत वर्ष खाँदबारी नगरपालिकाको आर्थिक सहयोगमा केही रोकथाम गर्ने प्रयास गरी तारजाली लगाइएको थियो । गाउँमा पहिरोको जोखिम बढेको खबर पाएपछि केही दिन अघि खाँदबारी नगरपालिकाका उपमेयर महेश्वर श्रेष्ठ बज्राचार्य, खाँदवारी-५ का वडाध्यक्ष टङ्कबहादुर घिमिरे, वडा सदस्य टीकाराम गुरुङ र खाँदवार-४ का कार्यबाहक वडाध्यक्ष पवित्रा गुरुङलगायतले स्थलगत अवलोकन गर्नु भएको छ । पहिरोको उच्च जोखिममा परेको रमिते गाउँमा नगरको विपद् व्यवस्थापन कोषबाट रकम विनियोजन गरेर केही दिनमै तारजालीसहित ढुङ्गा फुटाउने काम सुरु गरिने नगर उपप्रमुख महेश्वरा बज्राचार्यले बताउनु भएको छ ।

Photo 20240814 Sangkhuwasabha (4)

Photo 20240814 Sangkhuwasabha (3)

Photo 20240814 Sangkhuwasabha (2)

Photo 20240814 Sangkhuwasabha (1)


इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगर