पहिरोले अस्पतालमा क्षति पुगेपछि स्वास्थ्य सेवा अवरुद्ध

  ०८१ असार २९ गते

भानु नगरपालिका– ५ मा रहेको पुरनडिही नगरस्तरीय अस्पतालमा पहिरोले क्षति पुगेपछि अस्पतालद्वारा प्रदान गरिने स्वास्थ्य सेवा अवरुद्ध भएको छ ।

असार २७ गते राती देखिको अविरल वर्षाको कारणले उक्त अस्पतालको प्रसुती कक्ष, प्रयोगशाला कक्ष लगायतका भौतिक संरचनामा पूर्ण रुपमा क्षति भएको र अन्य भागमा समेत आंशिक क्षति पुगी सेवा अवरुद्ध हुन पुगेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिनुभयो ।

क्षतिका बावजुत जनस्वास्थ्य जस्तो सम्वेदनशील विषय प्रति जिम्मेवार रहदै तत्कालका लागि भानु नगरपालिका भित्र रहेका नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको सहयोगमा उक्त भवन भित्र जमेको लेदो सफा गरी सोही स्थानबाट आकस्मिक सेवा सन्चालन गरिएको र प्रसुती सेवाका लागि वडा नम्बर ३ मा रहेको भानु स्वास्थ्य चौकी खहरेमा तयारी अवस्थामा राखिएको भट्टराईले बताउनुभयो ।

पहिरो हटाउने काम भइरहेको भन्दै उहाँले ठूलो मात्रामा भौतिक क्षति भएकाले पूर्ण रुपमा सेवा सञ्चालन गर्ने अनुकुल वातावरण नभएकोले तत्काल स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशसँगको सहकार्यमा पूर्ववत् सेवा सुचारु गर्ने प्रयास भइरहेको बताउनु भयो ।

हाललाई पुरनडिहि नगर अस्पतालबाट आकस्मिक सेवा बाहेक अन्य सेवा प्रवाह गर्न नसकिएकोले सेवाग्राहीहरुलाई पर्न गएको असुविधा प्रति नगरपालिका दुखी रहेको नगरपालिकाका प्रवक्ता इश्वर बहादुर घिमिरेले बताउनुभयो ।

photo1081329tanahun

photo2081329tanahun


प्रकाशचन्द्र भट्टराई