पहिरोमा परि गण्डकी प्रदेशमा आठ जनाको मृत्यु, राजमार्गहरु अवरुद्ध हुँदा जनजिवन प्रभावित

  ०८१ असार २४ गते

केहि दिन देखि निरन्तर भइरहेको वर्षाका कारण पहिरोमा परि गण्डकी प्रदेशमा हालसम्म आठ जनाको मृत्यु भइसकेको छ भने एक जना अझै बेपत्ता हुनुहुन्छ । साथै सोहि पहिरोमा परि नौ जना घाइते भएका छन् । निरन्तर भइरहेको वर्षाले घरहरु डुबानमा पर्नुका साथै सडक तथा राजमार्गहरु अवरुद्ध हुँदा जनजिवन कष्टकर बनेको छ ।

तनहुँ जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार तनहुँको शुक्लागण्डकीमा  असार २२ गते गएको पहिरोमा परि तीन जनाको मृत्यु भएको छ । शुक्लागण्डकी नगरपालिका– ७ काउरेका ४० वर्षीया हिरा नेपाली, ३७ वर्षीया अनिशा बास्तोला र ६५ वर्षीय श्याम भण्डारीको पहिरोमा परि मृत्यु भएको हो ।

असार २२ गते दिउँसो शुक्लागण्डकी नगरपालिका– ७ काउरेका हिरा नेपाली र सुनमाया कुमालको घर माथीबाट पहिरो आउदै गर्दा घर भित्र रेहेको सामान स्थानीयहरु मिली निकाल्न जाने क्रममा नेपाली, बास्तोला र भण्डारी बेपत्ता हुनुभएको थियो । बेपत्ता भएपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी सहित स्थानीय बासिन्दाहरुले खोजतालस गर्दा तिनै जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका एसपी अपिलराज बोहोराले जानकारी दिनु भयो ।

बेपत्ता भएका मध्ये नेपालीको शव असार २२ गते राती र बास्तोला र भण्डारीको शव असार २३ गते बिहान भेटिएको एसपी बोहोराले बताउनु भयो ।

सोही घटनामा सोही ठाउँका ४० वर्षीय बिष्णु बहादुर नेपाली, २६ वर्षीय बिशाल तिम्लसिना र ३५ वर्षीय रबि घिमिरे घाइते हुनुभयो । उहाँहरुको जिपि कोईराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र बेलचौतारामा उपचार भएको छ ।

यसैगरि असार २२ गते ऋषिङ गाउँपालिका–१ झापुटार स्थित निर्माणाधिन तनहुँ हाईड्रोपावरको सुरुङ मार्ग भन्दा बाहिरबाट पहिरो सहित खसेको ढुङ्गा लागी ऋषिङ गाउँपालिका– १ मालिङगाका ५० वर्षीय कृष्ण बहादुर पुलामीको मृत्यु भएको छ । सोही घटनामा लमजुङ जिल्ला सुन्दरबजार नगरपालिका– २ का ५१ वर्षीय समलाल श्रेष्ठ घाइते हुनुभयो । उहाँको दमौली अस्पतालमा उपचार भएको प्रहरीले जनाएको छ ।

अविरल वर्षाको कारण पृथ्वीराजर्माको शुक्लागण्डकी नगरपालिका– ७ स्थित सेरा नयाँबस्तीमा कचवे बगाउँदा अवरुद्ध भएको यातायात असार २३ गते बिहानबाट एकतर्फी रुपमा सन्चालनमा आएको प्रमुख जिल्ला अधिकारी जनादर्न गौतमले बताउनु भयो ।

photo1081324tanahun

photo2081334tanahun

पर्वत जिल्ला प्रतिनिधि सन्तोष थापाका अनुसार पर्वतको फलेवास नगरपालिका– १ कार्कीनेटामा असार २२ गते दिउँसो पहिरोमा पुरिएर फलेवास नगरपालिका– १ कार्कीनेटा टिमुबोटका ४० वर्षीय झलक पौडेल र स्याङ्जाको आँधिखोला गाउँपालिका– ३ का ३३ वर्षीय तुलसीराम पौडेलको मृत्यु भएको छ । दिउँसो गोठभन्दा माथिको पाखाबाट आएको पहिरोमा परेर झलक सहित साथीकोमा गएको बेलामा तुलसीराम पौडेलको पनि मृत्यु भएको हो ।

कार्कीनेटाका वडाध्यक्ष चोलाकान्त उपाध्यका अनुसार तुलसीरामको शव पहिरोले बगाएको गोठ तथा घर भन्दा करिब १ सय मिटर तल भेटिएको हो । कार्कीनेटाकै झलकको शव भने स्याङ्जाको आँधिखोला गाउँपालिका– ४ शेपथमा भेटिएको हो । घर भन्दा केही तल रहेको हिले खोलामा मिसिएर उहाँको शव खोलामा पुगेको उद्धारकर्ताहरूले बताएका छन् ।

पहिरोमा परेर झलक पौडेलको घरमा पालिएका दुई ओटा भैँसी, एउटा गोरु र चार ओटा बाख्रा पनि पुरिएका छन् ।

शुक्रबार देखि अविरल रूपमा भइरहेको वर्षाले झलकको घर नजिकै रहेको गोठ माथिको पाखो गलेको जस्तो देखिएको थियो । गोठमा पहिरो आउन सक्ने सम्भावना देखेर गोठमा रहेका चौपाया निकाल्न गएकै बेलामा पहिरो आएको थियो । उक्त पहिरो घरभन्दा करिब ३ सय मिटर माथिबाट खसेको थियो ।

स्याङ्जा जिल्ला प्रतिनिधि समीक्षा ढकालका अनुसार अविरल वर्षाका कारण असार २२ गते पहिरो जादा दुई जनाको मृत्यु भएको छ । स्याङ्जा बिरूवा गाउँपालिका– ६ लामाखेत बस्ने ईश्वरी लम्सालको घरमा पहिरो जाँदा दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता रहेका छन् । मृत्यु हुनेहरूमा बिरूवा गाउँपालिका– ६ माझकोट बस्ने ६५ वर्षीया गुईश्वरी शर्मा मरासिनी र ६७ वर्षीया हरिमाया शर्मा रहेको स्याङ्जा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले बताउनु भयो ।

प्रहरी चौकी बिरुवा अर्चलेबाट खटिएको प्रहरीले बेपत्ता भएका सोही गाउँपालिका– ६ माझकोट बस्ने ७१ वर्षीय माधव शर्माको खोजी गर्नुको साथै सामान्य घाइते भएको पाँच जनाको उद्धार गरी घटना सम्बन्धमा अनुसन्धान गरिरहेको रानाले बताउनुभयो ।

photo4081324syangja

नवलपुर जिल्ला प्रतिनिधि ज्ञानु पंगेनीका अनुसार अविरल वर्षाका कारण नारायणी नदीको बहाव बढेर बस्ती पस्दा गैडाकोटमा २५ घर डुबानमा परेको छ ।

गैंडाकोट –२ बोटे टोलमा बाढी  स्थानीयको घरभित्रै पसेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वेद बहादुर पौडेलले जानकारी दिनुभयो । बाढी घरभित्र पसेर लत्ताकपडा तथा अन्नपात भिजेर क्षति भएको छ । बाढीसँगै आएका काठदाउरा मुढा समेत घरभित्रै पसेको छ ।

बाढी घरभित्रै पसेपछि स्थानीय, प्रहरी, जनप्रतिनिधि  समेतको सहयोगमा स्थानान्तरण गर्ने कार्य भएको पौडेलले बताउनुभयो । बस्तीबाट २ सय मिटर पर रहेको टोल सुधार समितिको ट्रष्ट र आफन्तको घरमा स्थानीय बासिन्दा, पशुचौपाया अन्नपात स्थानान्तरण गरिएको उहाँले बताउनुभयो । अहिले सम्म मानवीय  तथा पशु चौपायाको क्षति नभएको उहाँले बताउनुभयो ।

photo3081324nawalpur

म्याग्दी जिल्ला प्रतिनिधि अमृतप्रसाद पौडेलका अनुसार लगातारको वर्षापछि आएको पहिरोले सडक अवरुद्ध हुँदा मुस्ताङका सबै नाका बन्द भएको छ । मुस्ताङका लागि पोखरा–जोमसोम हवाइ र बेनी–जोमसोम सडक मार्ग मार्फत जोडीने भए पनि दुवै मार्ग बन्द हुँदा मुस्ताङ जिल्ला नाकाबन्द जस्तै भएको छ ।

बेनी–जोमसोम–कोरला कालिगण्डकी करिडोर सडकको सोझो यातायात सेवा रघुगंगा गाउँपालिका– २ बैसरीमा सडक माथिबाट आएको पहिरोले गर्दा सडक अवरुद्ध भएको हो । असार २० गते देखि नै पहिरो झर्न थालेपछि थोरै मात्र सवारी चलेको भए पनि असार २२ गते बिहानै देखि भने पुरै बन्द भएको छ । रघुगंगा गाउँपालिका– ३ राखुका झलक शर्माका अनुसार बेनी–जोमसोम सडक यात्रा जोखिमपूर्ण रहेको छ । धेरै ठाउँहरुमा पहिरो झर्ने हुँदा यात्रा गर्नु निकै कष्टकर र जोखिम पनि भएकोले यो समय अत्यावश्यक बाहेक यात्रा नगरेकै जाती हुने उहाँको भनाई छ ।

वर्षा बढे सँगै असार १५ गते देखि जोमसोम–पोखरा हवाई उडान पनि बन्द भएकोले जटिल प्रकारको बिरामी भएको खण्डमा उपचारका लागि लैजान समेत समस्या हुन सक्ने मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तको भनाई छ । उहाँले भन्नुभयो–‘मुस्ताङ जिल्ला भित्रका सबै सडकहरु सञ्चालनमा आएको भएपनि म्याग्दी तर्फ सडक खुलाउन नसकिएको हुँदा हामीलाई समस्या भएको छ ।’

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयका अनुसार जोमसोम–बेनी सडकको मार्फाको खोलामा बाढी आउँदा पटकपटक सडक अवरुद्ध हुने गरेको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक राजन रायमाझीका अनुसार बेनी–जोमसोम सडक खण्डको म्याग्दी तर्फ रघुगंगा गाउँपालिका– २ तल्लो बैसरी र माथिल्लो बैसरीमा सडक अवरुद्ध भएको छ । त्यस्तै भुरुङ तातोपानीमा अवरुद्ध सडक अहिले खुलेको भए पनि बैसरीमा अवरोध अहिल्यै हट्ने नदेखिएकोले बेनी–जोमसोम सिधा यातायात हुन सक्ने अवस्था भने छैन ।

त्यसैगरी पश्चिम म्याग्दी जोड्ने बेनी–दरवाङ सडक खण्डको बेनी नगरपालिका– ४ फापरखेतको घुमाउने भीरमा पूर्ण रुपमा सडक अवरुद्ध रहेको प्रहरीले जनाएको छ । त्यस्तै मालिका गाउँपालिका–४ बाङ्गेभिरमा पनि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार वर्षाले गर्दा अधिकांश सडक अवरुद्ध हुँदा ग्रामीण जनजीवनमा समस्या भएको छ ।

photo6081324myagdi


इन्सेक गण्डकी प्रदेश कार्यालय,पोखरा ।