पहिरोबाट विस्थापित भएकाहरू अस्थायी आवासको खोजी गर्दै

  ०८१ जेठ ३१ गते

गौरीशंकर गाउँपालिका–८ खारेको ३३ घरधुरी परिवार पहिरोबाट विस्थापित भएकाहरू  यस वर्षको मनसुन सुरू भएसँगै अस्थायी आवासका लागि ठाउँको खोजी गर्दैछन् ।

गत वर्ष साउन १८ गते आएको पहिरोले उक्त वडाका  खारेको सल्ले र भष्मेका ३३ घर बगाएको थियो भने सो पहिरोमा परी चार जना पुरिएका थिए ।  यस वर्षको मनसुनी वर्षा सुरू हुन लागेको भन्दै पहिरो पीडितहरू अस्थायी आवासको लागि सुरक्षित बास स्थानको खोजी गर्दै टहरा बनाउन लागेका छन् ।

सल्ले बस्तीका पहिरो पीडित राम तामाङले एक वर्षसम्म पनि सरकारले स्थायी आवासको व्यवस्था नगरेकोले गत वर्षको पीडा भुल्दै सुरक्षित, अस्थायी आवासको खोजीमा ३३ घरका सबै लागेको बताउनु भयो । ‘तीन तहको सरकार छ भन्छन् । हाम्रो पीडामा कुनै पनि सरकारले सहयोग गरेनन् ।,’– तमाङले भन्नु भयो ।

वडाध्यक्ष दावारिञ्जी शेर्पाले बस्ती स्थानान्तरणका लागि स्थानीय तहबाट जति प्रयास गरेको भए पनि सफल हुन नसकेको बताउनु भयो । बस्तीसँगै पहिरो पीडितलाई जीविकोपार्जनको व्यवस्था समेत गर्नुपर्ने रहेछ, वडा र गाउँपालिकाको प्रयासले सम्भव नभएको वडाध्यक्ष शेर्पाले बताउनु भयो ।

गौरीशंकर गाउँपालिकाका अध्यक्ष विश्वास कार्कीले पीडितहरूलाई स्थायी आवास व्यवस्थापनका लागि सम्भव भएसम्मका प्रयत्न गरिएको बताउदै सरोकारवाला निकायले बेवास्ता गरेको उहाँले आरोप लगाउनु भयो ।

स्थानीय सरकारको मात्र स्रोतले पहिरो पीडितलाई व्यवस्थापन गर्न सम्भव नभएको र जिल्ला विपत् व्यवस्थापन समिति, प्रदेश कार्यालय, राष्ट्रिय विपत् जोखिम प्राधिकरणमा पटकपटक ताकेता गर्दा समेत सुनुवाइ नभएको अध्यक्ष कार्कीले बताउनु भयो ।

photo2024061301dolakha


उद्धव पोखरेल