पहिरोको जोखिममा ४४ वर्षदेखि त्रासपूर्ण जीवन जिउदै आएका भुजुङ्गेका दलित समुदाय

  ०८० वैशाख २६ गते

सन्धिखर्क नगरपालिका– ७ भुजुङ्गे दलित बस्तीका बासिन्दा विगत ४४ वर्षदेखि पहिरोको जोखिम त्रासपूर्ण जीवन जिउदै आएका छन् ।

भुजुङ्गेको दलित बस्ती पहिरोको उच्च जोखिममा परेको ४४ वर्ष बितिसक्दा पनि सम्बन्धित निकायले चासो नदिएका कारण स्थानीयहरू निरास भएर बाँच्न बाध्य छन् ।

२०३५/०३६ देखि बस्तीको माथिबाट जमिनले धाँजा फाटेको र  बस्तीको पुच्छारमा रहेको टोडेयार खोला भासिदै पुरिदै गएपछि बस्तीका ६२ घर परिवारका  २ सय ६८ जना पहिरोको जोखिममा रहेका र स्थानीय सरकारले बस्ती स्थानान्तरण गर्न ढिला सुस्ती गरी चासो नदिएको ९० वर्षीय  कुलबहादुर नेपालीले बताउनु भयो ।

“२०३५/०३६ देखि यता बर्षातको समयमा कहिल्यै आनन्दसँग सुत्न बस्न सकेनौं । ठूलो पानी पर्दा कति बेला बगाउँछ भनेर त्रासै त्रासमा रात दिन बितायौं ।,” नेपालीले भन्नु भयो ।

पहिरोको जोखिमबारे धेरै पटक भेला बैठकमा कुरा उठाए तत्कालिन  गाविसदेखि जिल्लासम्म पुगे पनि कुनै सुनवाई नभएको नेपालीले गुनासो गर्नु भयो ।

२०३६/०३७ तीर जिल्ला प्रशासन कार्यालयको सल्लाह र अनुमति लिए स्थान्तरणका लागि लामाताल, चिसापानी, मौवाबारी, पाब्रा र शिवपुरका ङ्ंगल हेर्न गए पनि सबैलाई एकै ठाउँमा बस्ने जमिन  नमिल्ने र रूख काट्न नमिल्ने भएकाले बसाई सार्न नसकिएको नेपालीले बताउनु भयो ।

“प्रत्येक वर्ष ठुलो पानी पर्दा जमिन धस्ने गर्छ । बस्तीनै कहिले बगाउँछ भन्ने त्रास र जोखिम हुँदा हुँदै पनि अन्यन्त्र जाने ठाउँ नभए पछि यही बस्न बाध्य भएका छौं ।” नेपालीले भन्नु भयो ।

स्थानीय तह, प्रदेश र सङ्घीय सरकारले बस्ती स्थानान्तरण तथासुरक्षाका लागि कुरा मात्र गर्ने गरेको स्थानीय युवा संजय नेपाली दुखेसो पोख्नु भयो ।

“निर्वाचनको समयमा नेताहरू आएर बस्तीमा दाल, चामल बाँडे, बस्ती पहिरोको जोखिममा भएकोले स्थानान्तरण गरेर सुरक्षा दिने प्रतिबद्धता पनि गरे तर आजभोली नेताहरुको आवाज पनि सुन्न पाइन्न ।”  संजयले भन्नु भयो ।

६२ घर मध्ये ४१ घर पहिरोको अति जोखिममा रहेका छन् । ०७९ असोजमा  परेको पानीले ज्यान जोगाउन विद्यालयका कोठामा महिला, बालबालिका, सुत्केरी, गर्भवती, अपाङ्गता र वृद्ध वृद्धाले कष्टकर दिन बिताउनु पर्‍यो ।

भुजुङ्गेका दलित समुदाय पहिरोको जोखिम मोलेर बस्दै आएका र असोजमा आएको पानीले   बस्तीको तल र माथिबाट पहिरो बग्न थाले पछि घर छाडेर विद्यालयमा भवन र छिमेकीको घरमा ज्यान जोगाउन जानु परेको सन्धिखर्क नपा–७ का  वडा सदस्य बसन्त नेपाली बताउनु भयो ।

सन्धिखर्क नगरपालिका ७ का वडाध्यक्ष चुरा बहादुर केसीले वडा कार्यालयबाट हुन सक्ने सहयोग उपलब्ध गराएको र जिल्ला प्रशासन कार्यालयमार्फत  घरको अभिलेखिकरण गरी  प्रदेशमा पठाएको बताउनु भयो ।

सन्धिखर्क नगरपालिकाका मेयर कृष्णप्रसाद श्रेष्ठले बस्ती लामो समयदेखि अत्यन्तै जोखिममा रहेको र स्थानान्तरण गर्न नगरपालिकामा बजेट नभएका कारण  व्यवस्थापन गर्न नसकेको बताउनु भयो ।

भुजुङ्गेमा बस्ती बस्न नमिल्ने भुगर्भविद्को अध्ययनले बताएको छ । पहिरो पीडितलाई स्थानान्तरण गर्न जग्गा चाहिन्छ । जग्गाकालागि बजेट नभएको श्रेष्ठले बताउनु भयो ।

पूर्ण क्षति भएका पहिरो पीडितलाई नगरपालिकाबाट ३० हजार रूपियाँका दरले राहत दिने निर्णय भएपनि दिन नसकिएको बताउदै श्रेष्ठले  पहिरोबाट क्षति भएका घर परिवारको तथ्यांक संकलन भएको तर राष्ट्रिय विपद् व्यस्थापन कार्यालय तथा गृह मन्त्रालयले अनलाईन प्रणालीमा नराखेकोले प्रविष्ट गर्न नसकिएको बताउनु भयो ।

जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत नुमलाल पन्थीले भूगर्भविद्ले तयार गरेको अध्ययन प्रतिवेदन आएपछि छलफल गरेर काम कारवाही अगाडि बढाउने बताउनु भयो ।


कूलबहादुर नेपाली