पहिरोको जोखिमका कारण तल्लो चिप्लाका ४२ परिवार त्रिपालमुनि !

  ०८१ साउन ३० गते

वर्षातका कारण पहिरोको जोखिम बढेसँगै  मर्स्याङ्दी गाउँपालिका–५ तल्लो चिप्लाका ४२ परिवार त्रिपालमुनि पुगेका छन् । तल्लो चिप्लाको गैरीगाउँको जमीनमा धाँजा फाट्ने, चिरा पर्ने र केही ठाउँमा पहिरोसमेत खसेपछि पहिरोको डरले यहाँका बसिन्दा त्रिपाल टाँगेर सुरक्षित स्थानमा सरेका हुन् ।

साउन १२ गतेको वर्षातले बस्तीमाथिका जमीन चिराचिरा परेर पहिरो जाने जोखिम बढेपछि साउन १३ गतेदेखि ४२ घरपरिवार गाउँ नजिकैको डाँडागाउँमा गएर त्रिपाल टाँगेर बस्दै आएको स्थानीय बबिता घलेले बताउनु भएको छ ।

photo20240814lamjung (1)

मर्स्याङ्दी गाउँपालिका–५ का वडाध्यक्ष घनश्याम घलेले बस्तीभन्दा करिब १ सय ५० मिटरमाथि १५–२० मिटर चिरा परेको र साना–साना दर्जनौँ स्थानमा जमीन फाटेर पहिरोको जोखिम बढेपछि स्थानीय त्रिपाल टाँगेर बस्न थालेको बताउनु भयो ।

भिरालो ठाउँमा बस्ती भएकाले गाउँ नै पहिरोको उच्च जोखिममा परेपछि गाउँपालिकाबाट २५, जिल्ला प्रशासन कार्यालयबाट चार र नेपाल रेडक्रस सोसाइटीबाट १० थान त्रिपाल स्थानीयलाई उपलब्ध गराएपछि मकैबारीमा त्रिपाल टाँगेर बस्न थालेको वडाध्यक्ष घलेले बताउनु भयो ।

photo20240814lamjung (2)

'भदौसम्म जोखिम रहने भएकाले स्थानीयलाई मकैबारीमा त्रिपाल टाँगेर राखिएको छ । यो गाउँमा १ सय ८० स्थानीय छन् ।'-प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङले भन्नु भयो-'पहिरोको जोखिम रहेपछि अस्थायी रूपमा बस्नलाई त्रिपाल व्यवस्थापन गरिएको र स्थानीय त्रिपाल टाँगेर सुरक्षित स्थानमा बस्न थालेका छन् ।'

photo20240814lamjung (3)


सुमित्रा भुजेल