पहिरोका कारण प्रसूति गृहको भवनमा क्षति, सेवा प्रवाह प्रभावित

चैनपुर नगरपालिका-६ स्थित प्रसूति गृह भवनमा पहिरोले क्षति पुर्‍याएपछि सेवा प्रवाह प्रभावित भएको छ ।

Photo 20230827 Sangkhuwasabha (1)

प्रसूति गृहभवन ०८० भदौ १० गते बिहान खसेको पहिरोबाट क्षतिग्रस्त भएको छ । जसका कारण प्रसूति सेवा प्रभावित भएको चैनपुर नगरपालिका उपमेयर एलिना श्रेष्ठले बताउनु भयो ।

पहिरोका कारण प्रसूति गृहभवन, वेडलगायत स्वास्थ्य सामग्रीमा क्षति पुगेको छ । २० लाख रुपियाँ बराबरको सामानमा क्षति भएको प्रसूति गृह प्रशासनले जनाएको छ ।

पहिरोका कारण प्रसूति गृहको भवन चिरा परेको छ । पहिरोले भवन र तीन ओटा कोठा र स्वास्थ्य उपकरणलगायतका सामग्रीमा क्षति पुगेपछि प्रसूति सेवा प्रभावित भएको प्रसूति गृहका मेडिकल अधिकृत सञ्जय क्षेत्रीले बताउनु भयो ।

प्रसूति सेवा केही उपायलगाएर एक दुई दिनभित्रमा सञ्चालन गरिने अधिकृत क्षेत्रीले बताउनु भयो ।

प्रसूति गृहमा गर्भवती महिलासहित दैनिक ४० जना बढी जनाले सेवा लिँदै आएका छन् ।

प्रसूति गृहको सेवा प्रभावित भएपछि तत्काललाई सेवाग्राहीहरूलाई जिल्ला अस्पताल र अन्य स्वास्थ्य संस्थामा रिफर गरिएको मेडिकल अधिकृत सञ्जय क्षेत्रीले बताउनु भयो ।

प्रसूति भवन गृह वि.स. ०६७ सालमा १ करोड ३९ लाख रुपियाँ लगानी गरेर निर्माण गरिएको थियो ।

नेपालको संविधान २०७२, ले धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकलाई मौलिक हकका रुपमा व्याख्या एवम् व्यवस्था गरेको छ ।

सोही धाराको उपधारा १ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भन्ने व्यवस्था गरिएको छ ।

Photo 20230827 Sangkhuwasabha (2)


भविन कार्की