पर्वत कारागारमा रहेका बन्दीको उपचारका क्रममा मृत्यु

  ०७७ मङ्सिर ३० गते

विभिन्न मुद्दामा पर्वत कारागारमा सजाय भुक्तान गरिरहेका बन्दीको मङ्सिर २९ गते मृत्यु भएको छ ।

प्रतिबन्धित नेपाल कम्युनिष्ट पाटी नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वका  कार्यकर्ता म्याग्दी मालिका गाउँपालिका३ अडिबारका ५८ वर्षीय जगेन्द्रबहादुर पुनको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको हो ।

रिंगटा लागेर लडेका पुनलाई पर्वत कारागार प्रशासनले पर्वत अस्पतालमा तत्कालै लगेपनि पर्वत अस्पतालले थप उपचारका लागि मङ्सिर २४ गते क्षेत्रीय अस्पताल पोखरामा रिफर गरेकोे पर्वत कारागारका कर्मचारी हरिकृष्ण शर्माले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।

उहाँले बिरामी पुनलाई रिफर गरेसँगै पर्वत कारागारले केन्द्रिय कारागार व्यवस्थापन विभागको सहकार्यमा मङ्सिर २५ गते कास्की कारागारलाई जिम्मा लगाइएको बताउनुभयो  ।

विप्लव माओवादीकै कार्यकर्ता भएका कारण राज्यविरुद्ध गतिविधि गरेको कसुरमा जिल्ला प्रहरी कार्यालय म्याग्दीले पक्राउ गरेको पुनलाई पटकपटक धरौटी बुझाउँदा पनि पुनः पक्राउ हुँदै आएका थिए ।

उनलाई म्याग्दी प्रहरीले कात्तिक ५ गते पक्राउ गरेर पर्वत प्रहरी समक्ष कारवाहीका लागि बुझाएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरीले पर्वत जिल्ला अदालतमा पेश गरेपछि अदालतले मङ्सिर ३ गते पुनलाई ५० हजार रुपियाँ धरौटीमा छुटाउने आदेश दिएको भएपनि धरौटी बुझाउन नसकेर पर्वत कारागार चलान भएका थिए ।

मृतकका परिवारले उनको शव बुझ्न मानेका छैनन् ।

उनका भाई थमबहादुर पुनले दिएको जानकारी अनुसार शव पश्चिमाञ्चल अस्पतालमा नै छ । चिकित्सकले उच्च रक्तचापका कारण मृत्यु भएको जानकारी दिएको बताउँदै थमबहादुरले समयमा उपचार नभएका कारण दाजुको मृत्यु भएको भन्दै शव जिम्मा नलिएका हुन् ।

उनले न्यायका लागि राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक लगायतका संस्थामा निवेदन दिएका छन् ।

पर्वत कारागारमा रहँदा नियमित स्वास्थ्य चेक जाँच हुन नसकेका कारण अचानक विरामी परेको र अन्तिम अवस्थामा मात्रै अस्पतालमा पुर्याइएको परिवारको गुनासो छ ।

 


सन्तोष थापा