पर्वत अस्पतालमा सुरक्षित सुत्केरी सेवा नहुँदा सेवाग्राहीलाई समस्या

  ०७९ माघ २७ गते

पर्वत जिल्लामा सञ्चालित जिल्ला अस्पतालमा सुरक्षित सुत्केरी सेवा अवरूद्ध हुँदा सेवाग्राहीलाई समस्या भएको छ । जिल्ला अस्पतालमा रहेका चिकित्सक लामो समय सम्म उपलब्ध नहुँदा १ महिनादेखि प्रसुति सेवा बन्द भएको हो ।

जिल्ला अस्पतालमा पर्वतको जलजला, फलेवास, कुश्मा र मोदी गाउँपालिकाका सेवाग्राहीहरू सेवा लिन आउने गर्दछन् । विशेष गरी छिमेकी जिल्ला बागलुङको दक्षिणी क्षेत्र जैमिनी नगरपालिकाका सर्वसाधारण पनि पर्वत अस्पतालमा उपचारका लागि आउने गर्दछन् तर एक महिना देखि चिकित्सक नहुँदा प्रसुति गराउनका लागि पोखरा बागलुङ लगायतका ठूला अस्पतालमा पुग्नुपर्ने अवस्था रहेको छ ।

 कुश्मा नगरपालिका– ३ अम्बोटकी कुमारी रेग्मीलाई प्रसुति व्यथाले च्यापेर झण्डै १० किलोमिटर सडक यात्राबाट बिहिबार पर्वत अस्पताल पुग्दा चिकित्सक नभएपछि फर्किएर पोखरा जान बाध्य भएको स्थानीय नवराज क्षेत्रीले गुनासो गर्नुभयो । एक महिना अघि पुस २२ गते पनि आफुलाई यस्तै समस्या परेको उहाँले बताउनुभयो ।

जिल्ला अस्पताल पर्वतकी निमित्त मेडिकल सुपरिटेण्डेण्ट रुक्मिणा अधिकारीका अनुसार सेवामा रहेका चिकित्सक एमडिजीपी डाक्टर हेमन्त बराल तालिममा रहेका कारण सेवालाई निरन्तरता दिन नसकिएको हो । उहाँले अन्य विकल्पको खोजी गरिएपनि हालसम्म सेवालाई नियमितता दिन नसकिएको बताउनुभयो । पर्वत अस्पतालमा यस अघि मासिक ३० देखि ३५ जना सम्म प्रसुति हुँदै आएको तथ्याङक छ ।


सन्तोष थापा