पर्वतमा मानव अधिकार उल्लङ्घनका घटना कमीः सरोकारवाला

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयले वैशाख १० गते पर्वतमा विभिन्न सरोकारवाला निकायका प्रमुख एवम् प्रतिनिधिसँग मानव अधिकारका सवालमा अन्तरक्रिया गरेको छ ।

अन्तरक्रियाका वक्ताहरूले वर्ष पुस्तकको बारेमा चर्चा गर्दै मानव अधिकार उल्लङ्घनका घटनामा कमी ल्याउन प्रभावकारी भएको बताएका थिए ।

कार्यक्रममा इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेल, नर्वेजियन एम्बेसीका राजनीतिक सल्लाहकार टोर्न लोभडालसहितको टोलीले पर्वतको मानव अधिकारको अवस्था र नेपाल मानव अधिकार वर्ष पुस्तकको प्रभावको बारेमा छलफल गरेको थियो ।

छलफलका क्रममा पर्वतका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले मानव अधिकार उल्लङ्घनका घटना हुन नदिन आफू र मातहतका सबै सरकारी सेवादायक निकायहरूलाई सचेतिकरण गरिरहेको बताउँदै वर्ष पुस्तकमा गम्भीर प्रकृतिका सामाजिक हिंसालाई पनि उठान गर्नुपर्ने बताएका थिए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख श्यामु अर्यालले मानव अधिकारको संरक्षणमा प्रहरी सधैँभर लागिरहेको बताउँदै प्रहरी सुरक्षाकर्मीकै मानव अधिकार हनन् भएको अवस्थामा बोल्ने निकाय नभएको गुनासो गरेका थिए ।

गैरसरकारी संस्था महासङ्घका केन्द्रीय सचिवले मानव अधिकार वर्ष पुस्तकले मानव अधिकार उल्लङ्घनका घटना न्यूनीकरणमा सहज भएको बताए ।

उनले मानव अधिकार उल्लङ्घनका घटनालाई उजागर गर्न र सबै समक्ष समग्र जिल्लाको मानव अधिकार अवस्थाबारे छर्लङग पार्न पुस्तक प्रभावकारी रहेको बताए ।


सन्तोष थापा