पर्वतका ३५ ओटा मतदानस्थल अति संवेदनशील सूचीमा

  ०७९ असोज ३१ गते

जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाका ३५ ओटा मतदान स्थललाई अति संवेदनशील सूचीमा राखेको छ ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि समितिले ७४ मतदानस्थल मध्ये ३५ ओटालाई अति संवेदनशील सूचीमा राखेको हो ।

विगतमा भएका निर्वाचन र स्थानीय तहको पछिल्लो निर्वाचनलाई समीक्षा गर्दै पर्वतका ७४ ओटा मतदानस्थलमध्ये समितिले ३५ ओटा मतदानस्थललाई अति संवेदनशील, ३१ ओटा मतदानस्थललाई संवेदनशील र आठ ओटा मतदानस्थललाई सामान्य सूचीमा राखेको हो ।

स्थानीय तहको निर्वाचनमा जिल्लामा भएका राजनीतिक गतिविधि, निर्वाचन बहिष्कार गर्ने समूह रहेको क्षेत्र, भौगोलिक स्थिति, सञ्चार र सडकको सुलभताको अवस्थालाई आधार बनाएर वर्गिकरण गरिएको प्रमुख जिल्ला अधिकारी नारायण सापकोटाले बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय पर्वतका डिएसपी मधुसुदन न्यौपानेले निर्वाचनमा जिल्लाको शान्ति सुरक्षामा कुनै कमी हुन नदिने बताउनु भयो । निर्वाचनका लागि जिल्लामा ७४ मतदानस्थलमा १ सय ४८ केन्द्र तोकिएका छन् ।


सन्तोष थापा