पर्यवेक्षकको लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

  ०७९ कात्तिक २६ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को मातहतमा रहि मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको पर्यवेक्षणमा खटिने पर्यवेक्षकको लागि बागलुङमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

तीन जिल्लाका २० जना पर्यवेक्षकको लागि बागलुङमा आयोजना गरिएको अभिमुखिकरण कार्यक्रममा इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरलले निर्वाचन आचार संहितको पूर्ण पालना गर्दै संस्थाको गरिमा उच्च बनाउने गरी जिम्मेवारीमा खटिन आग्रह गर्नुभएको हो ।

उहाँले निर्वाचनमा राजनीतिक दल, उम्मेदवार र कर्मचारीको मात्र नभएर पर्यवेक्षणमा खटिएकाहरूको पनि पर्यवेक्षण हुने भन्दै संयमित भएर काम गर्न आग्रह गर्नुभयो ।

अभिमुखिकरण कार्यक्रममा इन्सेक गण्डकी प्रदेशका सवनम शर्माले निर्वाचनको पर्यवेक्षणको क्रममा पर्यवेक्षकले निभाउनु पर्ने भूमिका र गर्नुपर्ने काम कर्तव्यको बारेमा जानकारी गराउनुभएको थियो ।

निर्वाचन स्वच्छ, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न पर्यवेक्षणमा खटिएका पर्यवेक्षकले सकरात्मक भूमिका निर्वाह गर्नुपर्ने उहाँले बताउनुभयो ।

अभिमुखिकरण कार्यक्रममा इन्सेक पर्वत जिल्ला प्रतिनिधि तथा नेपाल पत्रकार महासङ्घ पर्वतका अध्यक्ष सन्तोष थापा, इन्सेक म्याग्दी जिल्ला प्रतिनिधि अम्रित बास्कुनेले पनि सहजिकरण गर्नु भएको थियो ।


सिर्जना पन्त