पत्रकार सिंहलाई स्वास्थ्यकर्मीले दुर्व्यवहार गरेको आरोप

  ०८१ साउन २५ गते

कर्णाली आवाज डटकम अनलाइन मिडियाका प्रमुख समाचारदाता एवम् पत्रकार मोहन सिंह (मालबहादुर) लाई जिल्ला अस्पतालका स्वास्थ्यकर्मी गङ्गा रेग्मीले दुर्व्यवहार गरेको आरोप लागेको छ ।

पत्रकार सिंह समाचार प्रयोजनका लागि ०८१ साउन १८ गते जिल्ला अस्पताल पुगेर फोटो खिचेपछि फोटोको विषयलाई लिएर अस्पतालका स्वास्थ्यकर्मी रेग्मीले दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले साउन २४ गते जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको छ । कर्मचारी र पत्रकार सिंह दुवै जनालाई जिल्ला प्रहरी कार्यालयमा बोलाएर फोटो डिलिट गरेपछि सरोकारावालको गम्भीर ध्यानाकर्षण भएको थियो । पत्रकारलाई दुर्व्यवहार गरेको विषयलाई लिएर नेपाल पत्रकार महसङ्घ, कर्णाली प्रदेश समिति र नेपाल पत्रकार महासङ्घ, जाजरकोटले प्रेस विज्ञप्ति निकालेपछि राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेशले घटनाको अनुगमन गरेको छ ।

राष्ट्रिय मानव अधिकार आयोगका निमित्त प्रमुख मानबहादुर कार्की नेतृत्वको टोली जाजरकोट पुगेर सरोकावाला निकायसँग घटनाका विषयमा सुझाव लिएको छ । साउन २३ गते स्वास्थ्य सेवा कार्यालयका निमित्त व्यवस्थापक, जिल्ला प्रहरी कार्यालयका प्रमुखसँग सुझाव लिनुका साथै स्थलगत अध्ययन गरेको छ ।

पत्रकार सिँहले आफू माथि गरेको दुर्व्यवहारकाे घटनालाई लिएर कर्मचारीलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको बताउनु भयो । जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले छानविनका लागि स्वास्थ्य सेवा कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई घटनाको अनुसन्धानका लागि जानकारी गराएको बताउनु भयो ।


बासुदेव शर्मा