पत्रकारलाई धम्की दिएको घटनाका आरोपित गिरफ्तार

  ०७६ भदौ २१ गते

नेपाल पत्रकार महासङ्घ बर्दिया शाखाका सचिव ठाकुरबाबा नपा–३ का ३७ वर्षीय भावुक योगीलाई गालीगलौज गर्दै मार्ने धम्की दिएको आरोपमा प्रहरीले गुलरिया नपा–३ पण्डितपुरका २६ वर्षीय कमल सारुमगरलाई भदौ २० गते गिरफ्तार गरेको छ ।

पीडित पत्रकारलाई आरोपितले भदौ १५ गते राति मोबाइल फोनबाट गालीगलौज गर्दै मार्ने धम्की दिएको भन्दै सुरक्षा मागसहित दोषीलाई कानुनी कारबाहीका लागि भदौ १६ गते जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय बर्दियामा पीडितले उजुरी दिएका थिए ।

प्रहरीले गिरफ्तार गरेका आरोपित कमलले आफूले फोन गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी रामशङ्कर कोहारले बताए ।

पीडितले ठाडो उजुरी दिएकाले निवेदन दिने पक्षलाई बोलाएर छलफल अगाडि बढाउने पनि डिएसपी कोहारले बताए ।

पीडितका अनुसार उनी र उनकी पत्नीलाई भदौ १५ गते आइतबार राति फोन गरी अपरिचित व्यक्ति आफू पनि ‘पत्रकार हुँ’ भन्दै कमल शाही पाल्पा घर बताउँदै अश्लील शब्द प्रयोग गर्दै गालीगलौज गरी ‘मार्छु, काट्छु’ भन्दै मार्ने धम्की दिएका थिए ।

अश्लील शब्द प्रयोग गरी विभिन्न तवरले मानसिक तनाव दिएको हुनाले त्यस नम्बरबाट फोन गर्ने व्यक्ति पत्ता लगाई गिरफ्तार गरी विद्युतीय अपराध अन्तर्गत हदैसम्मको कानुनी कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय गुलरिया बर्दियामा पीडित पत्रकार योगीले उजुरी दिएका हुन् ।

नेपाल पत्रकार महासङ्घ शाखा बर्दियाका सचिव योगीलाई धम्की दिनेलाई अनुसन्धान गरी कानुनी दायरामा ल्याउन माग सहित प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ समक्ष आग्रह गरिएको नेपाल पत्रकार महासङ्घ बर्दिया शाखाका अध्यक्ष राजेन्द्रप्रसाद धितालले बताए ।


मानबहादुर चौधरी