पत्रकारलाई कुटपिट गरेको आरोपमा सेनाका जवानविरूद्ध प्रहरीमा उजुरी

लहान नपा-२२ का ३२ वर्षीय पत्रकार गोपाल गुप्ताले २५ वर्षीय नेपाली सेनाका जवान विजय गुरूङले साउन ६ गते कुटपिट गरेको भन्दै उनीविरूद्ध साउन ७ गते इलाका प्रहरी कार्यालय लहानमा उजुरी दिएका छन् ।

लहान नपा-१ स्थित सहीद चोकको निलम ग्लास हाउस अगाडि साथीसँग कुराकानी गरिरहेको अवस्थामा मादक पदार्थ सेवन गरेका गुरूङले बिना कारण मुक्का र हेल्मेटले कुटपिट गरेको पीडितले बताए ।

तनहुँ घर भई उदयपुरको भुल्के-१८ बाहिनीमा कार्यरत सेनाका जवानले पत्रकारलाई कुटपिट गरेको इलाका प्रहरी कार्यालय लहानका डिएसपी राजेश थापाले बताए ।

आर्मीहरूको लागि बलात्कार र कर्तव्य ज्यान मुद्दामा बाहेक सबै कारबाही नेपाली सेनाभित्रै प्रक्रिया अनुरूप हुने भएकोले आरोपितको लहान आर्मी क्याम्पमा मापसे परीक्षण गरी राति नै बुझाएको डिएसपी थापाले जानकारी दिए ।

नेपाल पत्रकार महासङ्घ सिरहाका सदस्य तथा नवसङग्राम दैनिकका पत्रकार गुप्ताले आफूमाथि अन्धाधुन्ध कुटपिट भएपछि नजिकै ड्युटीमा रहेका सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोग लिएको बताए ।


दुर्गा परियार