पत्रकारलाई उपचारका लागि इन्सेकको सहयोग

पत्रकार एवम् मानव अधिकार रक्षक दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ का ५० वर्षीय बद्री आचार्यलाई इन्सेक कोशी प्रदेश कार्यालय विराटनगरले आर्थिक सहयोग गरेको छ ।

Photo 20230516 khotang (6)

आर्थिक अभावमा उपचारवाट वञ्चित हुनुपर्ने अवस्थामा पुग्नु भएका पत्रकार एवम् मानव अधिकार रक्षक आचार्यले इन्सेक खोटाङ प्रतिनिधिलाई सहयोगका लागि आग्रह गरेपछि इन्सेकले आर्थिक सहयोग गरेको हो ।

जेठ १ गते दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई, नेपाल पत्रकार महासङ्घ खोटाङ शाखा अध्यक्ष दीलिप खत्री, इन्सेक प्रतिनिधिलगायतको उपस्थितीमा आचार्यलाई आर्थिक सहयोग प्रदान गरिएको हो ।

उपचारका लागि सहयोग गरीदिन आचार्य र पत्रकार महासङ्घ शाखा कार्यालय खोटाङले इन्सेकलाई आग्रह गरेपछि मानव अधिकार रक्षक कोषमार्फत आचार्यलाई सहयोग गरिएको हो ।

इन्सेकले उपलब्ध गराएको सहयोग हस्तान्तरण गर्दै दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले राज्यले मानव अधिकार रक्षकका लागि गर्नुपर्ने कार्य इन्सेकले गरेको बताउनु भयो । उहाँले मानव अधिकार र सामाजिक न्यायका निम्ति इन्सेकको सहयोग अतुलनीय भएको बताउनु भयो ।

पत्रकार महासङ्घ खोटाङ, शाखाका अध्यक्ष दीलिप खत्रीले इन्सेक मानव अधिकार र सामाजिक न्यायको क्षेत्रमा क्रियाशील भएकाले सोही अनुसार पत्रकारलाई सहयोग प्राप्त भएको बताउनु भयो ।

रोगबाट थलिएपछि आर्थिक अभावमा उपचारबाट वञ्चित हुनुपर्ने अवस्थामा इन्सेकले महत्वपूर्ण सहयोग गरेको पत्रकार आचार्यले बताउनु भयो ।

आर्थिक अभावमा उपचारबाट वञ्चित हुनु भएका पत्रकारलाई स्वास्थ्य अधिकारको सम्बोधन हुने गरी इन्सेक कोशी प्रदेश कार्यालयले १० हजार रुपियाँ आर्थिक सहयोग गरेको इन्सेक कोशी प्रदेश प्रमुख सोमराज थापाले बताउनु भयो ।

इन्सेकले मानव अधिकार रक्षकहरूका लागि सहयोग गर्दै आएको र सोही क्रममा  पत्रकार आचार्यलाई उपचारका लागि मानव अधिकार हेल्प डेस्कमार्फत आर्थिक सहयोग गरिएको प्रमुख थापाले बताउनु भयो ।

इन्सेकले मानव अधिकार रक्षकहरूको अधिकार रक्षाका लागि सहयोग, बहस र पैरवी गर्दै आएको छ ।

मानव अधिकार रक्षकसम्बन्धी घोषणापत्र सन् १९९८ ले पत्रकारलाई मानव अधिकार रक्षकका रूपमा परिभाषित गरेको छ ।

Photo 20230516 khotang (5)


तारानाथ फुयल