पत्रकारलाई धम्की दिएको घटनाका आरोपित विरुद्ध प्रहरीमा उजुरी

  ०७९ जेठ २६ गते

सिमकोट गाउँपलिका–५ खाद्यक घरभई हाल रेडियो कर्णाली आवाजमा कार्यरत २३ वर्षीया पत्रकार बेलुमाया महतारालाई धम्की दिएको भन्दै सर्केगाड गाउँपालिका–२ रिप गाउँकी २८ वर्षीया रङगमति महतारा विरूद्ध जेठ २५ गते पीडितले जिल्ला प्रहरी कार्यालय, हुम्लामा उजुरी दिनु भएको छ ।

जेठ २५ गते रेडियो कर्णाली आवाजमा पत्रकार महताराले बिहानको साढे ६ बजेको हुम्ला सेरोफेरो समाचार बाचन गरिरहेको अवस्थामा आरोपित महतारा समाचार कक्षामा पसेर गाली गलौज र कुटपिट गर्ने धम्की दिएपछि सोही दिन प्रहरीमा उजुरी गर्नु परेको पीडितले बताउनु भयो ।

उहाँले आफ्नो दाईसँगको विवादलाई लिएर आफुलाई कुटपिट गर्ने धम्की दिएको आरोप लगाउनु भयो । रेडियो जस्तो सार्वजनिक स्थलमा धम्की दिएको विषयमा आपत्ति जनाउँदै रेडियो सञ्चालकले सोको विषयमा छलफलका लागि प्रहरीलाई उजुरी गरिएको रेडियोका निमित्त स्टेशन म्यानेजर सुरेश परियारले जानकारी दिनु भयो ।

पीडितको उजुरीका आधारमा आरोपितलाई झिकाई छलफल गरिने जिल्ला प्रहरी कार्यालय, हुम्लाका इन्स्पेक्टर दिपक मल्लले बताउनु भयो ।


नन्द सिंह