पत्रकारमाथि दुर्व्यवहार भएको आरोप, घटनाको भत्सर्ना

लहान नगरपालिका ४ का ३८ वर्षीय नागरिक दैनिकका सिरहा संवाददाता मिथिलेश यादवमाथि मङ्सिर ६ गते साँझ दुर्व्यवहार भएको छ ।

लहान-३ स्थित लिलामदन पोलिक्लिनिक तथा प्रसुतिगृह प्रालिका सञ्चालक मनोजकुमार साह र डा. दिलिप कुमार तथा अस्पतालका कर्मचारी ३५ वर्षीय धनन्जय यादवले दुर्व्यवहार गरेको पीडित यादवले बताए ।

इटाटार गाविसका एक बिरामीसँग बढी शुल्क लिएको सूचना पाएपछि समाचार सङ्कलनको लागि पुगेका यादवमाथि दुर्व्यवहार भएको बताइएको छ । पत्रकार यादवले अस्पतालका सञ्चालक मनोजसँग कुरा गरी रहेका बेला धनन्जयले दुर्व्यवहार गरेको सँगै मोवाइल फोन फुटाएको बताएका छन् ।

अस्पतालका डाक्टर दिलिप कुमारले बिरामीसँग कुरा भए बमोजिम मात्र शुल्क लिएको र पत्रकारलाई दुर्व्यवहार नगरेको बताएका छन ।

घटनाको जानकारी हुनासाथ प्रहरी घटनास्थलमा पठाइएको इलाका प्रहरी कार्यालय लहानका डिएसपी राजकुमार केसीले बताए ।

यसै गरी नेपाल पत्रकार महासङ्घ सिरहा तथा प्रेस चौतारी सिरहाले मङ्सिर ७ गते प्रेस विज्ञप्ति प्रकाशन गरी घटनाको छानबिन गरेर दोषीलाई कारबाहीको माग गरेका छन् ।


दुर्गा परियार