पत्रकारको शङ्कास्पद मृत्यु, छानविनका लागि समिति गठन

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ६३ वर्षीय पत्रकार मणिराज दाहालको जेठ १३ गते शङ्कास्पद अवस्थामा लास फेला परेपछि छानविनका लागि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा ६ सदस्यीय छानविन समिति गठन गरिएको छ ।

दिक्तेल हाटडाँडास्थित क्षितिज बहुउद्देश्य बचत तथा ऋण सहकारी संस्थाको कार्यालय रहेको घरमा शङ्कास्पद अवस्थामा दाहालको लास फेला परेपछि अनुसन्धानका समिति गठन गरिएको हो ।

जेठ १४ गते प्रमुुख जिल्ला अधिकारी पवित्रप्रकाश शाहको अध्यक्षतमा ६ सदस्यीय छानविन समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी शाहले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

समितिमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई, उपमेयर विसन राई, जिल्ला प्रहरी कार्यालयका डिएसपी उमेश लम्साल, दिक्तेल रूपाकोट मझुवागडी–१ का वडाध्यक्ष नवराज राई, दिक्तेल रूपाकोट मझुवागढी–४ का वडाध्यक्ष खगेन्द्र राई, दिक्तेल रूपाकोट मझुवागढी–२ का वडाध्यक्ष दिनेश घिमिरे, मृतकका छोरा नवराज दाहाल, छोरी मञ्जु दाहाल थापाको उपस्थितिमा इन्स्पेक्टर शङ्करप्रसाद चौधरीको संयोजकत्वमा ६ सदस्यीय अनुसन्धान समिति गठन गरिएको छ ।

अनुसन्धान समितिले यथाशीघ्र सत्यतथ्य छानविन गरी प्रतिवेदन सार्वजनिक गर्ने भनिएको छ ।

जेठ १३ गते मृत फेला परेका दाहालको शरीरमा चोट देखिएको, भुइँमा सुतेको, सिरक ओढेको, नाक र मुखबाट रगत बगेको अवस्थामा लास फेला परेको मृतकका छोरा नवराजले बताउनु भयो ।

बाबुले प्रयोग गर्ने मोवाइल खाटमाथि भेटिएको तर, प्रहरीले सर्जमिन मुचुल्का तयार पार्नेक्रममा मोवाइल नै हराएपछि अनुसन्धानमा शङ्का थपिएको नवराजको भनाइ छ ।

प्रहरीले मुचुल्का गर्ने क्रममा मोवाइल हराएको भन्दै पीडित पक्ष र स्थानीयले जेठ १४ गते जिल्ला अस्पताल परिसरबाट जिल्ला प्रशासन कार्यालयसम्म विरोध र्‍याली गरेका छन् ।

पीडित पक्ष र स्थानीयको विरोधपछि घटना छानविनका लागि समिति गठन गरिएको हो ।

मृतक दाहाल नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाका संस्थापक सदस्य, नेपाल प्रेस युनियन जिल्ला शाखाका पूर्व संस्थापक सदस्य एवंम् भूतपूर्व अध्यक्ष, क्षितिज बहुउद्देश्य सहकारी संस्थाको वर्तमान अध्यक्ष, ट्रेड युनियन कांग्रेसका पूर्वअध्यक्ष र नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि हुन ।

शवको पोष्टमार्टम जिल्ला अस्पतालमा जेठ १४ गते गरी सोही दिन पीडित पक्षले शव बुझेको छ ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित सासु खोलामा जेठ १४ गते सद्गत गरेको छोरा नवराजले बताउनु भएको छ ।

प्रेस यूनियनले घटनाको छानविन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ ।

मानव अधिकार रक्षकसम्बन्धी घोषणापत्र १९९८ ले राजनीतिकर्मी र पत्रकारलाई मानव अधिकार रक्षकको रूपमा परिभाषित गरेको छ ।

photo 20220528 Khotang


तारानाथ फुयल