पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

  ०८० फागुन १६ गते

दुधौली नगरपालिका–१४ ज्यामिनटारकी ३५ वर्षीया चेतकुमारी बिकको हत्या गरेको आरोपमा पति ३५ वर्षीय बुद्धबहादुर बिकलाई प्रहरीले ०८० फागुन १६ गते गिरफ्तार गरेको छ ।

धनसार भन्ने स्थानमा खेतमा काम गरिरहेको समयमा १६ गते बिहान कोदालोले हिर्काइ पत्नीको हत्या गरेको आरोपमा स्थानीयको सहयोगमा प्रहरीले आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी चिरञ्जिवी दाहालले जानकारी दिनुभयो ।

पतिको कोदालो प्रहारबाट चेतकुमारीको घटनास्थलमा नै मृत्यु भएको दाहालले बताउनुभयो । घटनाको मुचुल्का गरी मृतको पोष्टमार्टमका लागि सिन्धुली अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।


नबिनबाबु अधिकारी