पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

  ०७८ मङ्सिर ५ गते

बोदे बरसाइन नगरपालिका–५ जाँजरकी २२ वर्षीया रोशन खातुनलाई विष खुवाएर हत्या गरेको आरोपमा प्रहरीले २५ वर्षीय पति लुकमान मियाँलाई मङ्सिर ३ गते गिरफ्तार गरेको छ ।

दाइजो बापत मोटरसाइकल र नगद नदिएको भन्दै परिवारका सदस्यहरूसँग मिलेर ०७६ फागुन २ गते विष खुवाएर खातुनको हत्या गरेको आरोपमा लुकमानलाई गिरफ्तार गरी मङ्सिर ५ गते म्याद थप गरिएको इलाका प्रहरी कार्यालय कडरबोनाका इन्स्पेक्टर वीरेन्द्रकुमार पासवानले जानकारी दिनुभयो ।

खातुनको लुकमानसँग विवाह ०७६ मङ्सिर ३० गते भएको थियो । विवाहपछि दाइजो माग्दै पटक–पटक धम्की दिँदै आएका लुकमानसहितले दाइजो नदिएको रिसमा कुटपिट गर्दै ०७६ फागुन १ गते विष खुवाएको मृतकका भाइ मो. फिरोजले बताउनुभयो ।

विष खुवाइएपछि गम्भीर बनेकी रोशनको उपचारको क्रममा ०७६ फागुन २ गते विराटनगरस्थित गोल्डेन अस्पतालमा मृत्यु भएको थियो । शवको पोस्टमार्टम ०७६ फागुन २ गते कोशी अस्पताल, विराटनगरमा भएको थियो ।

घटनासँगै मृतकका बुबा जहिरुद्दिनले इलाका प्रहरी कार्यालय कडरबोनामा दिएको उजुरी दर्ता नभएपछि उच्च अदालत जनकपुर, राजविराज इजलासमा परमादेशका लागि मुद्दा दायर गर्नुभएको थियो ।

राजविराज इजलासले ०७७ मङ्सिर २९ गते परमादेश गरेपछि उजुरी दर्ता गरी लुकमानलाई गिरफ्तार गरिएको इन्स्पेक्टर पासवानले बताउनु भयो ।

हत्या आरोपमा लुकमानसहित लुकमानकी ४५ वर्षीया आमासकिना खातुन, ४७ वर्षीय बुबा सरिमुल्ला मियाँ, ५५ वर्षीय ठूलोबुबा कलिमुल्ला मियाँ, महादेवा गाउँपालिका–४ का ३२ वर्षीय भिनाजु हजरत मियाँ र २७ वर्षीया दिदी हमिदा खातुन र लुकमानकी ठूलो दिदीकी २९ वर्षीया छोरी रेशमा खातुनविरुद्ध उजुरी दर्ता गरिएको प्रहरीले जनाएको छ । अन्य आरोपितहरू गिरफ्तार भएका छैनन् ।


मनोहरकुमार पोखरेल