पत्नी हत्या घटनाका आरोपितविरुद्ध उजुरी

ठोरी गाविस-३ सरस्वतीचोककी २१ वर्षीया एलिशा सुनारको हत्या गरेको आरोपमा ३५ वर्षीय पति अशोक लोहार र अशोककी जेठी पत्नी ३३ वर्षीया जमुना लोहारविरुद्ध पीडितपक्षले फागुन १२ गते इलाका प्रहरी कार्यालय पोखरीयामा उजुरी दिएको छ ।

हत्या घटनामा संलग्न रहेको आरोपमा अशोक र जमुनालाई प्रहरीले फागुन १० गते नै गिरफ्तार गरेको थियो ।

टाउकोमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा एलिशाको शव भान्साकोठामा फेला परेको इलाका प्रहरी कार्यालय ठोरीका इन्स्पेक्टर लोकेन्द्रसिंह गुरुङले बताए । फागुन १० गते बिहान हत्या भएको हुन सक्ने प्रहरीको भनाइ छ ।

एलिशालाई दुई दिन अघिमात्र अशोकले कान्छी पत्नीको रूपमा घरमा भित्र्याएका थिए । उनलाई भित्र्याएदेखि नै घरमा झगडा हुने गरेको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ ।

एलिशाका बुवा कृष्णबहादुर सुनारले छोरीको हत्यामा संलग्न भएकालाई कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दिएका हुन् ।

शवको पोष्टमार्टम बीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा फागुन ११ गते गरिएको इलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ ।

अशोकले आफू अविवाहित रहेको भन्दै झूक्कयाएर फागुन १ गते एलिशासँग विवाह गरेको पीडित पक्षको आरोप छ ।


केसी लामिछाने