पत्नी हत्या कसुर ठहर गर्दै जन्म कैदको फैसला

पत्नी हत्या कसुर ठहर गर्दै जिल्ला अदालतले मालारानी गाउँपालिका– २ डाँडाकटेरीका २७ वर्षीय कमलप्रसाद भुसाललाई  भदौ २५ गते जन्म कैदको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश श्रीकृष्णजंग शाहको इजलासले जन्म कैद सजायको साथै १ लाख रूपियाँ जरीबाना र पीडित राहत कोषमा २ हजार ४ सय रूपियाँ जमा गर्नु पर्ने फैसला गरेको जिल्ला अदालतका नायब शुब्बा रामप्रसाद आचार्यले बताउनु भयो ।

२६ वर्षीया सरस्वती भट्टराईलाई ०७९ असार १० गते आरोपितले बारीमा घाँस काट्न लगेर पछेउरीले घाँटी कसेर हत्या गरेको भन्दै मृतकका आफन्तले असार ११ गते जिल्ला प्रहरी कार्यालय, सन्धिखर्कमा उजुरी दिएका थिए ।

घटना पछि  पत्नी हत्या गरेको भन्दै आरोपित असार १० गते प्रहरी कार्यालय पुगेका थिए । प्रहरीले  जिल्ला सरकारी वकिल कार्यालय मार्फत ०७९ साउन १ गते जिल्ला अदालतमा कर्तव्य ज्यान अभियोगको मुद्दा दर्ता गराएको थियो ।

जिल्ला अदालतका न्यायाधीश डा.श्रीकृष्ण भटराईको ०७९ साउन २ गतेको इजलासले आरोपितलाई पुर्र्पक्षकालागि थुनामा राख्ने आदेश दिएको थियो ।

शवको पोष्टमार्टम ०७९ असार ११ गते अर्घाखाँची अस्पताल, सन्धिखर्कमा भएको थियो ।


कूलबहादुर नेपाली