पत्नी हत्या आरोपमा पति गिरफ्तार

  ०८० साउन २७ गते

आठराई गाउँपालिका–१ संक्रान्तीकी २४ वर्षीया रेशिका(दमन्ता) श्रेष्ठको हत्या गरेको आरोपमा प्रहरीले २६ वर्षीय पति राजकुमार श्रेष्ठलाई साउन २७ गते गिरफ्तार गरेको छ ।

घरायसी विवादपछि ०८० साउन १४ गते पत्नीले घर छोडेर हिँडेको र खोजी गरीदिन आग्रह गर्दै राजकुमारले जिल्ला प्रहरी कार्यालयमा साउन २४ गते निवेदन दिएका थिए ।

निवेदनलगत्तै घर छोडेर हिँडेका राजकुमारलाई अनुसन्धानका लागि झापाको काड्डभिट्टाबाट साउन २७ गते गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर छिपिञ्जो भोटले बताउनु भयो ।

पत्नीको खोजी गरीदिन पतिले निवेदन दिएपछि खोजीका क्रममा साउन २७ गते रेशिकाको शव आठराई गाउँपालिका–१ संक्रान्ती घरमा रहेको सुँगुरको खोर नजिक गाडिएको अवस्थामा फेला परेको इन्स्पेक्टर भोटेले बताउनु भयो ।

पत्नीलाई कुटपिट गरी हत्या गरेर प्लाष्टिकमा पोको पारेर सुँगुरको खोर नजिक शव गाडेको फेला परेपछि राजकुमारलाई काड्डभिट्टामा लुकिछिपी बसेको अवस्थामा गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा राजकुमारले पत्नीको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालको शव गृहमा राखिएको छ । साउन २८ गते शवको पोष्टमार्टम गरिने भएको छ ।


सुरेश खत्री